इनरुवा/सुनसरी प्रहरीले एकैदिन जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच तथा विशेष अभियानका क्रममा ब्राउन सुगर र ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट ठूलो मात्रामा लागूऔषध, नगद तथा मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले आइतबार साँझ ६:१५ बजे इनरुवा नगरपालिका–३ विद्युत प्राधिकरण क्षेत्रबाट पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको को १६ प ८०९८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा मोटरसाइकलको ह्यान्डलमा लुकाइछिपाइ राखिएको ५.५५ ग्राम ब्राउन सुगर फेला पारेको थियो। उक्त घटनामा रामधुनी नगरपालिका–३ निवासी १७ वर्षीय रुपेश चौधरी पक्राउ परेका छन्।
सोही दिन दिउँसो ३:१० बजे इटहरी उपमहानगरपालिका–४ सगरमाथा टोलस्थित घरमा खानतलासी गर्दा २९ वर्षीय अभिषेक चौधरीको कोठाबाट १.५४ ग्राम ब्राउन सुगर बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी बिहान ९:३० बजे बराहक्षेत्र नगरपालिका–५ अमाहा सिमसार वन क्षेत्रस्थित कालाबन्जार–धरान सडकखण्डमा प्रहरी चौकी भरौलको टोलीले भारतको बिहार राज्य, अररिया जिल्ला बेलाहा निवासी २० वर्षीय दयानन्द यादव सवार BR 38 AF 2646 नम्बरको मोटरसाइकल जाँच गर्दा १ हजार ६९० क्याप्सुल ट्रामाडोल र रु. २७ हजार ५०० नगद बरामद गरेको छ। उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
यस्तै साँझ ६:३५ बजे इटहरी–११ सिमरवना नहर क्षेत्रमा प्रहरी चौकी खनारबाट खटिएको टोलीले २० वर्षीय अभिषेक श्रेष्ठलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ९८० क्याप्सुल ट्रामाडोल र १ हजार १८० ट्याब्लेट स्पासपेन (SPASPAIN) फेला पारेपछि पक्राउ गरेको छ।
प्रहरीले चारै घटनामा बरामद लागूऔषध, नगद र सवारीसाधन नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जनाएको छ।