धरान/ धरानतर्फ भित्र्याइँदै गरिएको लागूऔषध ट्रामाडोलको ठूलो खेप सुनसरी प्रहरीले बरामद गरेको छ। सुनसरी जिल्लाका दुई फरक स्थानमा गरिएको चेकजाँचका क्रममा प्रहरीले दुई युवकलाई पक्राउ गर्दै हजारौं क्याप्सुल तथा ट्याब्लेट बरामद गरेको हो।
साेमबार बिहान ९ः३० बजे बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सिमसार वनको कालाबन्जार–धरान सडकखण्डमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले भारतबाट धरानतर्फ आउँदै गरेको मोटरसाइकल रोकी जाँच गरेको थियो। जाँचका क्रममा भारतको अररिया जिल्ला बेलाहा निवासी २० वर्षीय दयानन्द यादवको साथबाट १ हजार ६ सय ९० क्याप्सुल ट्रामाडोल र रु २७ हजार ५ सय नगद बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध, नगद तथा BR 38 AF 2646 नम्बरको मोटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
त्यसैगरी, आईतवार साँझ ६ः३५ बजे इटहरी उपमहानगरपालिका–११ सिमरवना नहर क्षेत्रमा प्रहरीले चेकजाँचका क्रममा २० वर्षीय अभिषेक श्रेष्ठलाई पक्राउ गरेको छ। उनको साथबाट ९ सय ८० क्याप्सुल ट्रामाडोल र १ हजार १ सय ८० ट्याब्लेट स्पासपेन (SPASPAIN) बरामद भएको प्रहरीले जनाएको छ।
दुवै घटनामा बरामद लागूऔषध धरानसहित आसपासका क्षेत्रमा बिक्री वितरणका लागि ल्याइएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। लागूऔषधको स्रोत, संलग्न व्यक्ति तथा सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।