झापा/ झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडी क्षेत्रमा रतुवाखोलाको पुलमुनि फेला परेको अज्ञात महिलाको शवको पहिचान खुलेको छ।
प्रहरीका अनुसार मृतक दमक नगरपालिका–८ बसन्त टोल निवासी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको विवरणअनुसार शव फेला परेपछि मृतकको पहिचान खुल्न सकेको थिएन। त्यसपछि प्रहरीले मृतकको बायाँ हातमा रहेको ट्याटुसहितको तस्वीर सार्वजनिक गर्दै पहिचानका लागि अनुरोध गरेको थियो।
मिति २०८३ जेठ १७ गते मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारी ले शव हेरेर सनाखत गरेपछि मृतक रमा तिवारी रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रमा तिवारी जेठ १३ गते राति करिब ९ः३० बजे घरबाट आफूखुसी निस्किएकी थिइन्। त्यसपछि उनी घर नफर्किएको बुझिएको छ।
यसअघि दमक–१० स्थित रतुवाखोलाको पुलमुनि बगिरहेको पानीमा सेतो प्लास्टिकको बोराभित्र शव फेला परेको थियो। घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो।
युवतीको मृत्यु कसरी भयो भन्ने विषय अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।