तस्बिर: संस्थागत र सामुदायिक तर्फबाट १००% नतिजा दिने बिध्यालय
धरान/ २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले धरानको शिक्षा क्षेत्रमा निजी (संस्थागत) र सामुदायिक विद्यालयबीच ठूलो शैक्षिक अन्तर देखाएको छ ।
धरान उपमहानगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार संस्थागत विद्यालयतर्फ ९३.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा सामुदायिक विद्यालयतर्फ यो संख्या ५०.३६ प्रतिशत मात्रै रहेको छ। एउटै नगरभित्र शिक्षा गुणस्तरमा देखिएको यो ठूलो अन्तरले सामुदायीक विद्यालयको गुणस्तर दयनीय बन्दै गएको प्रमाणित गरेको छ ।
धरानका २१ सामुदायीक विद्यालयबाट १ हजार १ सय २० विद्यार्थी मध्ये ५ सय ६४ विद्यार्थी उत्तिर्ण भएका थिए भने ५७ वटा संस्थागत विद्यालयबाट १ हजार ८१५ विद्यार्थी एसईईमा सहभागी भएकोमा १ हजार ६९६ जना उत्तीर्ण भएका छन् ।
समग्रमा निजी विद्यालयहरूको नतिजा उत्साहजनक देखिए पनि सबै विद्यालयको अवस्था समान छैन । धेरै विद्यालयले शतप्रतिशत नतिजा ल्याउँदा केही विद्यालयको अवश्था कमजोर देखिएको छ ।
निजी विद्यालयतर्फ नवोदय विद्या मन्दिर, हिबिस्कस लोटस, धरान मोडल, पदम मेमोरियल, जेम, बिष्णु, जुनियर पायोनियर्स स्कुल, आवर होम, मेरील्याण्ड, सिद्धार्थ शिशु सदन, चिल्ड्रेन्स एकेडेमी, सेन्ट जोसेफ, के.के. इन्टरनेशनल, एक्वा डाइनास्टी, बुद्ध आदर्श, सैनिक आवासीय, विद्या भूषण, इम्यानुएल, आशा एकेडेमी सुनसरी,सियोन स्कुल' धरान सकलर्स एकेडेमी शिक्षा सन्देश सेकेन्डरी र देउराली चिल्ड्रेन एकेडेमीले शतप्रतिशत नतिजा निकाल्दै उत्कृष्ट देखिएका छन् । यता सामुदायीक विद्यालय तर्फ पुर्वाञ्चल ज्ञान चक्षुले मात्रै शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको छ ।
विशेषगरी सैनिक आवासीय महाविद्यालयले १२७ मध्ये १२७, बिष्णु मेमोरियल सेकेन्डरी स्कुलले १२० मध्ये १२०, नेपाल पुलिस स्कुलले ११३ मध्ये ११०, र युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुलले १०७ मध्ये १०६ विद्यार्थी उत्तीर्ण गराउँदै राम्रो नतिजा दिएका छन् भने केही विद्यालयको नतिजा कमजोर देखिएको छ ।
सबैभन्दा चिन्ताजनक अवस्था माउन्ट मोरिया हाई स्कुलको देखिएको छ, जहाँ ६ जना विद्यार्थी सहभागी हुँदा एक जना पनि उत्तीर्ण हुन सकेनन्, अर्थात् ० प्रतिशत नतिजा आएको छ । धरानका निजी विद्यालयमध्ये यो एक मात्र शून्य नतिजा हो ।
त्यस्तै अरनिको मेमोरियल बोर्डिङ स्कुलको ४१.६७ प्रतिशत, सत्य शिशु निकेतन बोर्डिङ स्कुलको ५० प्रतिशत, धरान आदर्श बोर्डिङ सेकेन्डरी स्कुलको ६५.६३ प्रतिशत, जेनिथ इंग्लिस स्कुलको ६४.७१ प्रतिशत, ओएसिस इंग्लिस स्कुलको ६६.६७ प्रतिशत, समिट सेकेन्डरी बोर्डिङ स्कुलको ७०.५९ प्रतिशत, सुम्निमा सेकेन्डरी बोर्डिङ स्कुलको ७६.९२ प्रतिशत, भिक्ट्रोरी रेसिडेन्सियल सेकेन्डरी स्कुल र ज्ञान कुञ्ज एकेडेमीको ७७.७८ प्रतिशत, तथा नवज्योति स्कुलको ८० प्रतिशत नतिजाले निजी क्षेत्रभित्र पनि सुधारको आवश्यकता रहेको देखाएको छ ।
सामुदायिक विद्यालयको समग्र नतिजा कम भए पनि एउटा महत्वपूर्ण तथ्य के देखिएको छ भने कुनै पनि विद्यालयको नतिजा शून्य छैन । कम्तीमा हरेक विद्यालयबाट एक जना वा सोभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन्, जसले निजी विद्यालयमा देखिएको शून्य नतिजा भन्दा फरक सन्देश दिएको छ ।
सामुदायिक विद्यालयमा प्राविधिक शिक्षातर्फ राम्रो संकेत देखिएको छ । पब्लिक हाई स्कुलको प्राविधिक धारमा ८७.२३ प्रतिशत र शिक्षा निकेतन माविको प्राविधिक धारमा ७७.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । साधारण धारतर्फ भानुस्मृति माविले ८७.५० प्रतिशत र सरस्वती माविले ८२.६१ प्रतिशत नतिजा निकालेर राम्रो प्रदर्शन गरेका छन् ।
तर केही विद्यालयको अवस्था निकै कमजोर छ । श्री माध्यमिक विद्यालय, धरान–१७ को उत्तीर्ण दर ३.८५ प्रतिशत र पञ्चकन्या माविको ७.३५ प्रतिशत मात्रै छ । यसले सामुदायिक विद्यालयभित्रै गुणस्तरमा ठूलो असमानता रहेको देखाएको छ।
निजी विद्यालयहरूले समग्र नतिजामा वर्चस्व कायम गरे पनि माउन्ट मोरिया हाई स्कुलको शून्य नतिजाले निजी क्षेत्रभित्र पनि प्रश्न उठाएको छ ।
अर्कोतर्फ सामुदायिक विद्यालयको समग्र प्रतिशत कम भए पनि सबै विद्यालयबाट कम्तीमा एक विद्यार्थी उत्तीर्ण हुनु सकारात्मक पक्षका रूपमा देखिएको छ ।