धरान/ धरानका दुई ठूला सहकारी संस्था बराह बचत तथा ऋण सहकारी संस्था र श्रेया बचत तथा ऋण सहकारी संस्था मार्फत सर्वसाधारणको झण्डै साढे १२ अर्ब रुपैयाँ अपचलन भएको प्रकरणमा स्थानीय सरकार प्रभावहीन देखिएको छ।
मुख्य सञ्चालकहरू फरार भएपछि धरान उपमहानगरपालिका ले दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरे पनि पीडितको रकम फिर्ता गराउने वा प्रभावकारी अनुसन्धान अघि बढाउने काम हुन सकेको छैन।
बराह सहकारीबाट करिब ११ अर्ब र श्रेया सहकारीबाट १ अर्बभन्दा बढी रकम हिनामिना भएको दाबी गरिएको छ।
दुवै संस्था लामो समयदेखि बन्द छन् भने सञ्चालकहरू सम्पर्कविहीन बनेपछि पीडितहरूले राज्य संयन्त्र नै निरीह बनेको आरोप लगाएका छन्।
सहकारी संकट नियन्त्रण बाहिर गएको निष्कर्षसहित उपमहानगरपालिकाले संघीय सरकारअन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लाई दुईपटक पत्राचार गर्दै प्रत्यक्ष हस्तक्षेपको माग गरेको छ।
बराह सहकारी प्रकरणमा १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी अपचलन भएको दाबी गर्दै २६२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
अनुसन्धानका क्रममा रकम बराह ग्रुप अफ कम्पनी अन्तर्गतका १४ कम्पनीमा लगानी गरिएको खुलेको छ भने मुख्य सञ्चालक शिवकुमार विश्वकर्मा फरार छन्।
यता, ६ वर्षदेखि बन्द रहेको श्रेया सहकारीमा पनि १ अर्बभन्दा बढी रकम हिनामिना भएको बताइएको छ।
अध्यक्ष लोकबहादुर लिम्बू विदेश पलायन भएको जनाइएको छ।
पीडितहरूले घोषणामात्र गरेर समस्या समाधान नहुने भन्दै सम्पत्ति शुद्धीकरण, प्रहरी र केन्द्रीय निकायलाई सक्रिय बनाएर दोषीको सम्पत्ति खोजी गरी बचतकर्तालाई न्याय दिलाउन माग गरेका छन्।