धरान/ धरानस्थित श्रम संस्कृति पार्कमा हरेक दिन मधुर सारङ्गीको धुन गुञ्जिन्छ। त्यही धुनसँगै आफ्नो पुर्ख्यौली पेसा जोगाउँदै अघि बढिरहेका छन्—सुवास गन्धर्व र सुजन गन्धर्व।
सुवासले विगत २५ वर्षदेखि सारङ्गी रेट्दै गीत गाउँदै आएका छन् भने सुजनले पनि आठ वर्षदेखि यही यात्रामा साथ दिइरहेका छन्।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उनीहरू पार्कमा एकजनाले मादल बजाउने र अर्काले सारङ्गीको धुनमा गीत गाउने दैनिकीमा व्यस्त हुन्छन्।
उनीहरूको प्रस्तुति केवल मनोरञ्जनमा सीमित छैन, यही नै उनीहरूको जीविकोपार्जनको मुख्य आधार बनेको छ। पार्क घुम्न आउने सर्वसाधारण तथा पर्यटकले स्वेच्छाले दिएको सहयोगबाट उनीहरूको गुजारा चलिरहेको छ।
“बाउबाजेले सारङ्गी बजाएरै हामीलाई हुर्काउनुभयो, मैले पनि त्यही परम्परा समातेको हुँ,” सुवास भन्छन्।
उनका अनुसार पहिले गाउँ–गाउँ पैदल यात्रा गरेर गीत गाउने चलन थियो, तर अहिले यातायातको सुविधा बढे पनि संघर्ष भने उस्तै छ।
नेपालका पूर्वदेखि पश्चिमसम्म मात्र नभई भारतको सिक्किम र दार्जिलिङसम्म पुगेर गीत गाइसकेका सुवास ‘भ्वाइस अफ नेपाल’ को ब्याटल चरणसम्म पुगेका कलाकार हुन्।
‘इन्द्रेणी’ जस्ता कार्यक्रममार्फत पनि उनले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन्।
तर ठूला मञ्चबाट अपेक्षित आम्दानी नभएपछि उनी फेरि सार्वजनिक स्थलमै फर्किए—जहाँ कला र जीवन सँगसँगै अघि बढिरहेका छन्।
उता, लामो समय दार्जिलिङमा रोजगारी गरेर फर्किएका सुजन गन्धर्व पनि पछिल्ला आठ वर्षदेखि यही पेसामा छन्।
“सारङ्गी बजाएर गीत गाउनु हाम्रो पहिचान हो,” उनी भन्छन्, “तर नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित हुँदै जाँदा यस्तो मौलिक कला संकटमा पर्दै गएको छ।”
आधुनिक प्रविधिसँगै मनोरञ्जनका माध्यम बदलिँदै जाँदा गन्धर्व समुदायको परम्परागत पेसा जोगाउन चुनौती थपिएको उनीहरूको अनुभव छ।
नेपालका विभिन्न जिल्लामा फैलिएको गन्धर्व समुदायले परापूर्वकालदेखि नेपाली लोकसङ्गीतको संरक्षण, संवर्द्धन र विकास गर्दै आएको छ। सारङ्गी र मादल उनीहरूको सांस्कृतिक पहिचान मात्र होइन, जीवनको आधार पनि हो।
स्वास्थ्यले साथ दिएसम्म आफूहरू यही पेसामा निरन्तर रहने उनीहरू बताउँछन्—धरानको पार्कमा हरेक दिन, सारङ्गीको मधुर धुनसँगै।