झापा/ भारतको बनारसस्थित अस्पतालमा लावारिस अवस्थामा उपचाररत भेटिएका झापाका एक व्यक्तिको प्रहरीको सक्रियतामा उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षकको मोबाइलमा प्राप्त भिडियो सन्देशका आधारमा नेपाल घर भएका सन्तोष बि.क. नामका व्यक्तिको पहिचान गरिएको हो।
भिडियोमा उनको घर झापाको मेचीनगर–४ बाहुनडाँगी रहेको खुलेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई परिचालन गरिएको थियो।
प्रहरीको तीव्र पहलका कारण करिब ३०–३५ मिनेटमै उनका आफन्त पत्ता लागेका थिए। त्यसपछि प्रहरीको समन्वयमा आफन्तहरू भारतको बनारसस्थित SSPG सरकारी अस्पताल पुगेका थिए।
उक्त अस्पतालमा ५६ वर्षीय सन्तोष बि.क.लाई अपरिचित व्यक्तिहरूले कुटपिट तथा लुटपाट गरी घाइते बनाएको अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि पुर्याएको खुल्न आएको छ।
उद्धारपछि उनलाई जोगवनी नाका हुँदै विराटनगर ल्याइएको छ। हाल उनको नोवेल अस्पताल विराटनगरको ICU मा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाले सीमा पार हुने अपराध र नागरिक सुरक्षाप्रति पुनः गम्भीर प्रश्न उठाएको छ भने समयमै प्रहरीको सक्रियताले एक नागरिकको ज्यान जोगिएको स्थानीयले बताएका छन्।