२०८२ फर्केर हेर्दा: सुनसरीमा दुर्घटनादेखि बाढी डुबानसम्मको कहालीलाग्दो वर्ष

  • वैशाख ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt - स्वर्णिम राई

धरान/  २०८२ साल श्रावन २६ गते बिहान करिब ७ः१५ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित जमुवामटोलमा पूर्व–पश्चिम राजमार्गमा काकडभिट्टाबाट खोटाङतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो भने करिब २१ जना भन्दा बढी घाइते भएका थिए ।

घाइतेहरूलाई कोशी प्रदेशका विभिन्न अस्पतालमा पु¥याई उपचारपछि डिस्चार्ज गरिएको थियो ।
त्यसैगरी, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ हुलाकी मार्गमा २०८२ माघ १ गते को १ ख ४५४१ नम्बरको ट्रक दुर्घटनामा पर्यो । टायल र मार्बल बोकेर विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको उक्त ट्रक बिहान करिब ५ः३० बजे सडक मोडमा घुमाउने क्रममा पल्टिएको थियो ।

सोही क्रममा ट्रकमा सवार ८ जना मजदुरमध्ये सुनसरीको बर्जु गाउँपालिकाका गुरुङ समुदायका ५ जनाको घटनास्थलमै ज्यान गएको थियो भने ३ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएकाहरूको केही दिन अस्पतालमा उपचारपछि डिस्चार्ज गरियोे ।

२०८२ साल फर्केर हेर्दा सुनसरी जिल्ला बहुआयामिक चुनौती बोकेको वर्षका रूपमा रह्यो । एकातिर सवारी दुर्घटना, भने अर्कोतिर बाढी, पहिरो र डुबानले जनजीवन कष्टकर बनायो ।
जिल्लामा वर्षभरि नै सवारी दुर्घटनाका घटना बढ्दो क्रममा देखिए । पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहरूमा भएका दुर्घटनामा कैयौँले ज्यान गुमाए भने दर्जनौँ घाइते भए । तीव्र गति, लापरबाही र सडक सुरक्षाको कमजोर कार्यान्वयन दुर्घटनाका प्रमुख कारणका रूपमा देखिए ।

सुनसरीको भोक्राहामा दुर्घटना भएको केहीदिन पछि नै माघ ४ गते आइतबार दिउँसो करिब ४ः३० बजे धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्टमा को १ ख ७११९ नम्बरको बस अनियन्त्रित भई सडक नजिकैको मेडिकल पसलमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । घाइतेहरूलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पु¥याइएको थियो उपचारपछि केहि दिनमा घाइतेहरुको डिस्चार्ज भयो ।

२०८२ सालमा सुनसरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाका केही उदाहरण मात्र यी हुन् । सुनसरीका विभिन्न ठाउँहरूमा हरेक दिनजसो यस्ता दुर्घटनाहरू भइरहेका छन् । यस्ता दुर्घटनामा परेर वर्षेनी कैयौले ज्यान गुमाइरहेका छन् ।

त्यसैगरी सीमावर्ती क्षेत्रलाई केन्द्र बनाएर चोरी, लागूऔषध ओसारपसार, कुटपिट तथा गोली प्रहारजस्ता आपराधिक घटनाहरू पनि सार्वजनिक भए । सुरक्षा निकायले केही घटनामा संलग्नलाई नियन्त्रणमा लिए पनि समग्र रूपमा आपराधिक गतिविधि नियन्त्रण चुनौतीपूर्ण देखिएको छ ।

सामाजिक तथा राजनीतिक गतिविधिसँग जोडिएका झडपले समेत वर्षभरि वातावरण तनावपूर्ण बनायो । जेनजी आन्दोलादेखि लिएर प्राकृतिक विपद्का दृष्टिले पनि २०८२ साल सहज रहेन । वर्षायाम सुरु भएसँगै कोशी नदी र सहायक खोलाहरूमा पानीको सतह बढ्दा तटीय क्षेत्र डुबानमा परे । इटहरी, इनरुवा , बराहक्षेत्र,रामधुनी ,भोक्राहलगायतका क्षेत्रमा घर डुबानमा पर्नुका साथै सयौँ बिघा खेतीयोग्य जमिनमा क्षति पुगेको थियो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार लगातार भइरहेका दुर्घटनाको अध्ययन गर्दा जथाभावी सडक खन्ने प्रवृत्ति पनि जिम्मेवार देखिएको छ । सडक निर्माण भए पनि आवश्यक अध्ययन बिना जथाभावी सडक खन्ने गरिएको उनको भनाइ छ । ती सडकहरूमा कस्ता सवारी साधन चलिरहेका छन् भन्ने विषयमा नियन्त्रण गर्ने संयन्त्र नहुँदा पनि दुर्घटना बढिरहेको उनले बताए ।

प्रहरी उपरीक्षक गिरीका अनुसार सडकमा सवारी चालकबीचको प्रतिस्पर्धात्मक भावना, वर्षेनी सवारी साधन तथा चालक सङ्ख्या बढ्नु पनि दुर्घटनाका प्रमुख कारण हुन् । साथै, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु चढाउने मोटर साइकलहरुमा ३ जनासम्म सवार भएर यात्रा गर्ने प्रवृत्तिले पनि दुर्घटनाको जोखिम बढाएको उनको भनाइ छ ।

उनले भने, दुर्घटना बढिरहनु चिन्ताको विषय हो । यसलाई शून्यमा झार्न त सकिँदैन, तर सचेतना अपनाउने हो भने न्यूनीकरण गर्न सकिन्छ । दुर्घटना कम गर्न विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) र मदिरा सेवन (मापसे) गरेर सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिइँदै आएको छ । नशालु पदार्थ सेवन गरेर सवारी चलाउँदा चालक मात्र होइन, यात्रुको जीवनसमेत जोखिममा पर्ने भएकाले यसविरुद्ध निरन्तर सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए ।

आर्थिक बर्ष २०८२ आठ महिनाको अवधिमा एक हजार ५०४वटा दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुनसरीको तथ्याङ्कमा उल्लेख छ । भने एक सय ५३ जना गम्भीर र एक हजार पाँच सय ६२जना साधारण घाइते भएका थिए । ती दुर्घटनामा परेर एक ६८ जना पुरुष, १५ जना महिला र ४ जना बालबालिका गरी जम्मा ८७ जनाले ज्यान गुमाएका थिए ।

दुर्घटना न्यूनीकरण गर्न प्रयासरत प्रहरी

सवारी दुर्घटनाका कारणहरुमा चालकको लापरबाही,मादकपदार्थ सेवनजस्ता सदाबहार कारणसँगै केही मौसमी कारण पनि देखिने गरेका छन् । हुस्सु लाग्ने महिनामा अगाडिको गाडी नदेख्दा ठोक्किएर धेरै दुर्घटना हुने गरेका छन् भने साथै पानी पर्ने समयमा साना सवारी साधनहरु बढी दुर्घटनामा पर्ने गरेको प्रहरी उपरीक्षक गिरीको भनाई छ ।

यसको न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । मादकपदार्थ सेवन र लागुऔषध सेवन परीक्षण गर्ने काम पनि गरिरहेको प्रहरी उपरीक्षक गिरीले बताए । उनी भनछन् । दुर्घटना न्यूनीकरण गर्न हामी आवश्यक प्रयास गरिरहेका छौँ ।

सवारी दुर्घटनाका विविध कारणमध्ये प्रमुख कारण मानवीय लापरबाही नै रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । जिल्ला प्रहरी कार्यलय सुनसरीका सुचना अधिकारी चन्द्र खड्का भन्छन,जिल्लामा भएका दुर्घटनामध्ये धेरै जसो तीव्र गतिका कारण दुर्घटना भएको देखिन्छ ।

त्यस्तै चालकको लापरबाही,सडक प्रयोगकर्ताको असावधानी,मादकपदार्थ सेवन साथै लाइसेन्स बिनाका चालकले चलाएका सवारी साधनहरु बढी दुर्घटना पर्ने गरेको उनको भनाई छ ।
धरानका शिक्षाविद् तथा राजनीतिक विश्लेषक राजेन्द्र शर्मा भन्छन् २०८२ साललाई फर्केर हेर्दा सुनसरी जिल्लाको समग्र अवस्था अत्यन्तै चिन्ताजनक र नकारात्मक रह्यो । विशेषगरी दुर्घटना, बाढी डुबान र प्राकृतिक प्रकोपका घटनाहरूले जिल्लालाई वर्षभरि नै प्रभावित बनायो । यस वर्ष सुनसरीमा दर्जनौँ ठूला सवारी दुर्घटनाहरू भए, जसमा धेरै नागरिकहरूले ज्यान गुमाए भने सयौँ घाइते भए । यसले सडक सुरक्षाको अवस्था कति कमजोर छ भन्ने कुरा पनि स्पष्ट देखाएको छ ।

त्यसैगरी, प्राकृतिक विपद्का हिसाबले पनि यो वर्ष असामान्य रह्यो । उनले भने,मनसुनको समयमा आएको बाढी, डुबान र केही स्थानमा पहिरोका घटनाहरू अप्रत्याशित र भयावह थिए । खेतीयोग्य जमिनमा क्षति पुग्यो, धेरै परिवार विस्थापित भए र जनजीवन अस्तव्यस्त बन्यो ।

यी घटनाहरूले भौतिक क्षति मात्र होइन, सामाजिक र आर्थिक रूपमा पनि गम्भीर असर पारेका छन् । राज्यका निकायहरूको पूर्वतयारी, विपद् व्यवस्थापन र दीर्घकालीन योजना अझै प्रभावकारी हुन नसकेको शर्माको भनाई छ ।

बाढी डुबानले अस्तव्यस्त

२०८२ असोज महिनाको लगातारको वर्षाले सुनसरीमा बाढीपहिरोको जोखिम बढायो । सुनसरीमा बाढीका कारण १९ गते एकै दिनमा करिब एक हजार ३६ घर डुबानमा परेको थियो । लगातार वर्षाका कारण सानातीना खोलानाला बढेपछि जिल्लाका विभिन्न नगर तथा गाउँपालिका क्षेत्रका बस्तीहरूमा बाढी पस्यो । डुबान भयो र डुबानमा परेका अधिकांश घरहरूबाट मानिसहरू अस्थायी रूपमा सुरक्षित स्थानमा सारियो ।

जुन समय सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा करिब ३०० घर, बराहक्षेत्र नगरपालिका–८ मा १६० घर र इनरुवा नगरपालिका–१० को जाल्पापुर क्षेत्रमा ३०० भन्दा बढी घरभित्र बाढी पसेको थियो ।

त्यस्तै, इनरुवा–४, ८, ९ र १०, रामधुनी–६, ७ र इटहरी उपमहानगरपालिका–५ का बस्तीहरूमा पनि केही घर डुबानमा परेका थिए । त्यसो त धेरैजसो सुकुम्वासी बस्ती डुबानमा परेका थिए तर पूरै विस्थापित हुने गरी डुबान भने भएन तर पनि सुरक्षा निकायको निरन्तर निगरानी भने रहिरह्यो ।

बाढीका कारण घरहरु मात्र डुबानमा परेनन केहि विद्यालय र अस्पतालहरु समेत डुबानमा परेका थिए । इनरुवा–४ स्थित जानोद्दय आधारभूत विद्यालय र भोक्राहास्थित कार्डियो न्युरो अस्पतालसमेत प्रभावित भएका थिए । सोही दिनको बाढीका कारण केहि मानिसलाई बाढीले समेत बगायो,बराहक्षेत्र नगरपालिका–८ स्थित दोभान खोलाले ४५ वर्षीय नवराज उरावलाई खोलाले बगायो । सो क्रममा प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा अन्य निकायका टोलीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहे ।

यसैबीच धरान उपमहानगरपालिका–१३ स्थित धरान–भेडेटार सडकखण्ड निसानेमा समेत पहिरो जादा प्रभावित बन्यो । श्रावन महिनाकै २१ र २२ गतेको अविरल वर्षासँगै आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पु¥याएको थियो भने १२ घरभन्दा बढी उच्च जोखिममा परेका थिए ।

२१ गते राती करिब १ः३० बजे खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा पहिरोले पुरिए पछि क्षति पु¥याएको थियो ।

वर्षा सुरु भएदेखि पहिरोको त्रासमा २०८२ सालमा स्थानीय रातभर जाग्राम बस्नुपर्ने अवस्था समेत रहेको थियो । सुनसरी जिल्लामा पहिरोको जोखिम बढ्दा सडक अवरुद्ध हुनुका साथै बस्तीहरू असुरक्षित बने । वर्षायाममा मुहान धमिलो हुँदा खानेपानी आपूर्ति प्रभावित भई सर्वसाधारणले थप सास्ती समेत खेप्नुपरेको थियो ।

अविरल वर्षा र बाढीका कारण सुनसरीमा मौसमी तथा बेमौसमी तरकारी खेतीमा ठूलो क्षति पुग्यो । असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षासँगै आएको बाढीका कारण जिल्लाका किसानहरूले लगाएका बालीहरू डुबानमा पर्यो । तीन जना युवाले बराहक्षेत्र नगरपालिका–९ ढोलबजियामा सञ्चालन गर्दै आएका ‘सुन्दर कृषि फार्म’ बर्षा र बाढीले फार्मका सबै तरकारी खेती डुबान भई पूर्णरूपमा नष्ट भएको कृषक अमिर निरौला बताउछन् ।

पानीले टनेल र मल्चिङ् सबै डुबाएको थियो भने दुई बिघा भन्दा बढी क्षेत्रफलमा लगाइएको टमाटर सबै डुबानमा पर्यो । साथै, करेला, बैगुन, क्यापसिकम, काँक्रा, बोडी, फर्सी, घिरौंलालगायतका सबै बाली बाढीले नष्ट गरेको उनी सुनाउछन् । बाढीका कारण ठुलो क्षति बेहोर्नु पर्यो उनले भने,मल्चिङ्, बिरुवा र बिउमा गरिएको रु.१४ लाखभन्दा बढीको लगानी खेर गएको थियो ।

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार २०८२ सालमा बाढी र अविरल वर्षाले जिल्लाभरका तरकारी बाली, धान खेतीमा ठुलो क्षति पुर्याएको थियो । २०८२ साल कार्तिक महिनाको १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धानदेखि तरकारीबालीसम्ममा ठूलो क्षति पु¥र्यायो ।

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंह भन्छन् बेमौसमी वर्षाले जिल्लाभरका किसानलाई ठूलो नोक्सान पु¥याएको थियो । सुनसरीमा ४८ हजार ९ सय हेक्टर क्षेत्रफलमा धानखेती तीमध्ये करिब १४ हजार ४ सय हेक्टरमा क्षति पुगेको थियो ।

रामधुनी नगरपालिका–९ का किसान जङ्गबहादुर घिमिरेले दुई बिघा क्षेत्रफमा लगाएका धान २०८२ सालमा वर्षाले पूरै नष्ट पारेको सुनाउछन् । १२ कठ्ठा जति धान न मान्छेले खान मिल्ने भएको थियो न गाईबस्तुलाई घाँसको रूपमा प्रयोग गर्न मिल्ने भयो बाढी र वर्षाले नोक्सान भयो ।

बाढी डुबानका कारण विस्थापित भएका परिवार, दुर्घटनामा प्रभावित नागरिक तथा दैनिक आम्दानीमा निर्भर वर्ग सबैभन्दा बढी मारमा परेका छन् । समग्रमा २०८२ साल सुनसरीका लागि मानव सिर्जित र प्राकृतिक दुवै प्रकारका संकटले थलिएको वर्षका रूपमा रह्यो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved