धरान/ चारधाम निर्माण अभियानलाई थप गति दिन तथा विश्व शान्तिको कामनासहित विश्व शान्ति पूजा तथा मोलम (प्रणिधान) समारोह आयोजना गरिने भएको छ ।
धर्मगुरु लाटुन रिन्पोछेको अगुवाइमा सञ्चालन हुने उक्त धार्मिक कार्यक्रम चैत्र १ देखि ४ गतेसम्म धरान–८ स्थित बौद्ध दाहसंस्कार स्थल चारधाम पर्यटन केन्द्रमा हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमअन्तर्गत दैनिक पूजा, दिवा भोज तथा धार्मिक प्रवचन सञ्चालन गरिनेछ भने चैत्र १ गते सारनाथ धामको शिलान्यास समेत गरिने तालिका रहेको छ । समापनका दिन विशेष अभिषेक तथा शान्ति पूजा गरिनेछ ।
प्रदेशस्तरीय दोस्रो मोलम (प्रणिधान) सम्मेलन समेत सम्पन्न भइसकेको जानकारी दिँदै डिङ्मा मोलम छोप्पा समितिका सचिव राजेन्द्र स्याङ्बो तामाङले शान्ति, सद्भाव र विश्वकल्याणको कामनासहित तेस्रो ककार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
बौद्ध धर्मावलम्बीहरूको दाहसंस्कार स्थललाई व्यवस्थित गर्दै धार्मिक संरचना निर्माणसहित चारधामको अवधारणा अघि बढाइएको यस परियोजनाले धरान मात्र नभई समग्र कोशी प्रदेशकै धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
बौद्ध धर्मावलम्बीहरूका लागि धार्मिक तथा पर्यटकीय महत्व बोकेको बौद्ध चारधाम निर्माण गरेर धार्मिक पर्यटन प्रवद्र्धन गरिने बौद्ध दाह संस्कार स्थल धार्मिक वन बौद्ध समन्वय समितिका अध्यक्ष कर्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।
धरान–८ स्थित बौद्ध दाहसंस्कार स्थल तथा धार्मिक वन क्षेत्रमा निर्माण सम्पन्न भएको सारनाथ धामको समेत शिलान्यास कार्यक्रम रहेकोले सुरु गरिएको यो परियोजनाले भविष्यमा कोशी प्रदेशकै महत्वपूर्ण धार्मिक गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
चारधाम निर्माण कार्यले बौद्ध धर्मसँगै धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहााका अनुसार चारधाम निर्माण सम्पन्न भएपछि यो स्थल कोशी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुने विश्वास गरिएको छ ।
धरान–८ स्थित बौद्ध दाहसंस्कार तथा धार्मिक वन क्षेत्रमा करिब ११.८ हेक्टर (झण्डै २३ विघा) क्षेत्रफलमा चारधाम निर्माणको काम अगाडि बढाइएको हो । यस परियोजनाको अवधारणा अनुसार धरानलाई पूर्वाञ्चलको “सानो लुम्बिनी” का रूपमा विकास गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँका अनुसार बौद्ध धर्मका प्रमुख तीर्थस्थलहरू बुद्धगया, सारनाथ र कुशीनगर भारतमा रहेकाले विभिन्न कारणले त्यहाँ पुग्न कठिनाइ भएमा नेपालमै विकल्पस्वरूप तीर्थस्थल निर्माण गर्ने उद्देश्यले चारधामको अवधारणा ल्याइएको हो ।
यो स्थान विगतदेखि बौद्ध धर्मावलम्बीहरूको दाहसंस्कार स्थलका रूपमा प्रयोग हुँदै आएको थियो ।