-रणध्वज लोहार
धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ७ मा निर्माण गरिएको जेष्ठ नागरिक पार्कले वडाको मुहार नै फेरिएको छ।
विगतमा फोहोरमैला बग्ने र दुर्गन्ध फैलिने लिलामार्गस्थित भौडी अहिले सुन्दर पार्कमा रूपान्तरण भएपछि स्थानीयवासी खुसी भएका छन्।
पहिले खोलाबाट आउने बाढी र बजारको फोहोर बगेर दुर्गन्ध फैलिने उक्त स्थानमा बस्न त परै जाओस्, हिँड्नसमेत असहज हुने अवस्था थियो। तर पार्क निर्माण भएपछि अहिले सो क्षेत्र धरानवासीका लागि आकर्षणको केन्द्र बनेको छ।
बिहानैदेखि व्यायाम गर्न, घुम्न तथा मनोरञ्जन लिन आउने मानिसहरूको भीड लाग्ने गरेको स्थानीयहरू बताउँछन्।
वडा नम्बर ७ का अध्यक्ष जीवन सुवेदीको पहलमा निर्माण गरिएको उक्त पार्कले वडाको सुन्दरता मात्र बढाएको छैन, स्थानीयको जीवनशैलीमा समेत सकारात्मक परिवर्तन ल्याएको छ।
खोलालाई तारजालीले व्यवस्थित गरी नियन्त्रण गरिएको छ भने पार्क आसपासको क्षेत्र पनि सफा र आकर्षक बनेको छ।
वडावासी दिलबहादुर राईका अनुसार, “पहिले यहाँ दुर्गन्धित फोहोर मात्रै थियो, कोही बस्न चाहँदैनथे। अहिले बिहान ४ बजेदेखि नै मानिसहरू व्यायाम र घुम्न आउँछन्। यो वडाका लागि गौरवको आयोजना हो।”
त्यस्तै स्थानीय रमेशकुमार श्रेष्ठले पनि पार्क निर्माण भएपछि वडाको विकासमा ठूलो परिवर्तन आएको बताए। “पहिले यहाँ हिँड्न पनि मन लाग्दैनथ्यो, अहिले भने सबैको मन लोभ्याउने ठाउँ बनेको छ,” उनले भने।
यो पार्क तत्कालीन वडा अध्यक्ष स्वर्गीय भुवन मोक्तानको स्मृतिमा निर्माण गरिएको हो। मोक्तानको निधनपछि जनप्रतिनिधि र स्थानीयवासीको पहलमा पार्क निर्माणको काम अघि बढाइएको थियो।
तत्कालीन प्रतिनिधिसभा सदस्य जयकुमार राईको संसद विकास कोषबाट १० लाख रुपैयाँ बजेट उपलब्ध भएपछि पार्क निर्माणको बाटो खुलेको थियो।
वडाध्यक्ष सुवेदीका अनुसार, संसद विकास कोषको १० लाख र वडाको बजेटसमेत गरी करिब ६० लाख रुपैयाँ लागतमा पार्क निर्माण गरिएको हो। पार्कको शिलान्यास २०७६ फागुन ३ गते गरिएको थियो भने २०८० पुस २० गते उद्घाटन गरिएको थियो।
पार्कभित्र व्यायामशाला, चौतारी तथा बालबालिकाका लागि खेल्ने स्थान समेत निर्माण गरिएको छ। बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने यो पार्कमा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको वडाध्यक्ष सुवेदीले बताए।
धरानमा यसअघि वडा नम्बर ३ को माछा भौडीमा पनि पार्क निर्माण भइसकेको छ। यस्ता संरचनाले शहरको सुन्दरता बढाउनुका साथै नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।