तस्बिर : दन्तकाली मन्दिर धरान सुनसरी
सुनसरी/ धरान उपमहानगरपालिका–१४ विजयपुर क्षेत्रमा अवस्थित पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर पछिल्लो समय श्रद्धालुको प्रमुख आस्थाको केन्द्र बन्दै गएको छ।
विशेषगरी स्वस्थानी व्रत सुरु भएसँगै मन्दिरमा दैनिक रूपमा भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ।
इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेत हरेक वर्ष स्वस्थानी व्रत बस्दै आएको बताउँछिन्।
उनका अनुसार स्वस्थानी अवधिमा कम्तीमा दुईपटक दन्तकाली मन्दिरमा पुगेर पूजा गर्ने परम्परा छ। “शुद्ध मनले चिताएको पूरा हुन्छ भन्ने विश्वासले यहाँ आउँछु,” उनले भनिन्।
मन्दिरका मूलपुजारी विश्वराज खनालका अनुसार पौष शुक्ल पूर्णिमादेखि सुरु हुने एक महिनासम्म चल्ने स्वस्थानी व्रतका कारण यस अवधिमा भक्तजनको भीड अत्यधिक बढ्ने गर्दछ।
सामान्य दिनमा सयौँ दर्शनार्थी आउने मन्दिरमा शनिबार र मङ्गलबार पाँच सयभन्दा बढी श्रद्धालु पुग्ने गरेका छन्।
दन्तकाली मन्दिरसँगै वरपर रहेका बुढासुब्बा, पिण्डेश्वरलगायत अन्य मन्दिरको पनि एकैपटक दर्शन गर्न पाइने भएकाले श्रद्धालुको आकर्षण झनै बढेको पुजारी खनालको भनाइ छ। धरान–१५ की गोमा भट्टराई फुर्सद मिल्नेबित्तिकै दन्तकाली पुग्ने गरेको बताउँछिन्।
स्वस्थानी व्रतको अवसरमा विराटनगरबाट दर्शन गर्न आएका सुरेश खत्री र उनकी श्रीमती सुनिता खत्रीले पनि दन्तकालीप्रतिको आस्था गहिरो रहेको बताए।
स्वस्थानी व्रतकथाअनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले पति महादेवको अपमान सहन नसकी यज्ञकुण्डमा हाम फालेर प्राण त्याग गरेपछि, शोकाकुल महादेवले सतीको शव बोकेर भौँतारिँदा जहाँ–जहाँ शरीरका अङ्ग पतन भए, त्यहीँ शक्तिपीठ स्थापना भएको विश्वास छ।
विजयपुर पर्वतखण्डमा सतीदेवीको दाँत पतन भएकाले यो स्थान दन्तकाली नामले प्रसिद्ध भएको व्रतकथामा उल्लेख छ।
पौराणिक शक्तिपीठका रूपमा परिचित दन्तकाली मन्दिरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु दर्शनका लागि आउने गरेका छन्।
यहाँ हरेक वर्ष असोज, माघ, चैत र असार महिनामा चारवटा नवरात्रमा विशेष पूजा आयोजना गरिन्छ। विशेषगरी विजयादशमीको नवरात्रमा घटस्थापनादेखि दशमीसम्म ठूलो भीड लाग्ने गर्दछ।
दन्तकाली मन्दिरको स्थापना मिति यकिन नभए पनि पुराण र स्वस्थानी व्रतकथामा उल्लेख भएकाले यसलाई अत्यन्त प्राचीन धार्मिकस्थलका रूपमा लिइन्छ। मन्दिरमा खनाल थरका पुजारीले सयौँ वर्षदेखि पूजा गर्दै आएका छन्।
हालका मूलपुजारी विश्वराज खनाल आठौँ पुस्ताका पुजारी हुन्। मन्दिरसँग सम्बन्धित १८६८ सालमा राजा गीर्वाणयुद्धविक्रम शाहबाट प्राप्त ताम्रपत्र र लालमोहरसमेत सुरक्षित छन्।
धरान भ्रमणमा आउने अधिकांश पर्यटकले भानुचोकबाट उकालो लाग्दै दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर मन्दिरको दर्शनसँगै विजयपुर डाँडाको अवलोकन गर्ने गरेका छन्। दर्जनौँ मठमन्दिर रहेको विजयपुर डाँडा धार्मिक तथा ऐतिहासिक स्थलका रूपमा परिचित छ।
धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्ण भट्टराईले विजयपुर क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सके नेपाल र भारतबाट आउने पर्यटकको सङ्ख्या अझ बढ्ने बताए।
_रासस