इटहरी/ कोशी प्रदेशकै सबैभन्दा प्रतिष्ठित सम्मानका रूपमा स्थापित कोशी एक्सिलेन्स अवार्ड–२०२६ कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ।
अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि बिहीबार नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी र कान्तिपुर टेलिभिजनका बिजनेस प्रमुख सागर केसी तथा मार्केटिङ म्यानेजर अनुपम अधिकारीबीच औपचारिक सम्झौता भएको हो।
आउँदो फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्ट्रन होटलमा आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड–२०२६ कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन हुन लागेको हो।
कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्तित्वलाई सम्मान गर्दै आएको यस अवार्ड कार्यक्रमलाई प्रदेशकै सबैभन्दा ठूलो र विश्वसनीय अवार्डका रूपमा हेरिँदै आएको छ।
यस वर्ष अवार्डलाई थप परिष्कृत र प्रभावशाली बनाउन अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट गरी तीन नयाँ विधा थप गरिएको आयोजक संस्था नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जानकारी दिए। यससँगै कुल १६ विधामा अवार्ड प्रदान गरिनेछ।
गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्सलगायत दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो।
अवार्डलाई अझ विश्वसनीय र राष्ट्रिय स्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको अध्यक्ष अधिकारीले बताए।
निर्णायक समितिमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार रहेका छन् भने संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ। समितिले अवार्ड प्राप्तकर्ताको छनोट प्रक्रिया पारदर्शी र तीव्र ढङ्गले अघि बढाइरहेको जनाएको छ।
कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष–२०८२ को तयारीलाई तीव्र बनाइरहेका बेला, यस अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।
अध्यक्ष अधिकारीका अनुसार अवार्ड कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउनेछ र कोशी पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्य लिएको छ।
अवार्ड कार्यक्रमको व्यवस्थापन इटहरीस्थित काफल्सले गर्ने जनाइएको छ।