काठमाडौँ/ नेकपा एमालेमा वर्षौं झोला बोकेर राजनीति गरेका कतिपय नेताहरू टिकटको पर्खाइमै सीमित हुँदा कांग्रेसबाट भर्खरै पार्टी प्रवेश गरेका वीरेन्द्र कुमार कनौडियाले भने प्रवेशकै दिन प्रतिनिधि सभाको टिकट हात पारेका छन्।
कांग्रेसबाट कपिलवस्तु क्षेत्र नम्बर–३ का लागि एकल नाम सिफारिसमा परेका कनौडिया पार्टीभित्रको आन्तरिक किचलोका कारण शनिबार मात्रै एमाले प्रवेश गरेका थिए। प्रवेश गरेको केही घण्टामै एमालेले उनलाई सोही क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको हो।
एमाले प्रवेशपछि कनौडियाले कांग्रेसभित्रको निरन्तर किचलोमा अल्झिनुभन्दा एमालेमा रहेर राजनीति गर्नु उपयुक्त लागेको प्रतिक्रिया दिएका छन्। उनी यसअघि कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सभामा संसदीय दलको नेतासमेत भइसकेका अनुभवी नेता हुन्।
तर कनौडियालाई टिकट दिइएपछि एमालेभित्र तीव्र असन्तुष्टि चुलिएको छ। पार्टीमा लामो समय योगदान गरेका नेताहरूलाई पन्छाएर नयाँ प्रवेशकर्तालाई प्राथमिकता दिइएको भन्दै जिल्लादेखि केन्द्रसम्म असन्तोष फैलिएको छ।
एमालेले अधिकांश जिल्ला र क्षेत्रका उम्मेदवार टुंग्याइसकेको भए पनि केही स्थानको निर्णय भने पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातमा सुम्पिएको छ। बाँकी निर्णयले पार्टीभित्र थप तरंग ल्याउने संकेत देखिएको छ।