कुलुङ भाषा संस्कृति उत्थान संघको नयाँ केन्द्रीय समिति गठन
- पुस २८, २०८२
- कोशीपत्र/संवाददाता
धरान/ नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको छैठौं राष्ट्रिय महाधिवेशन यही पुष २६ र २७ गते धरानमा सम्पन्न भएसँगै संघले नयाँ केन्द्रीय नेतृत्व पाएको छ।
महाधिवेशनले दौलथ पीदीसै कुलुङको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ।
महाधिवेशनपछि बोल्दै नवनिर्वाचित अध्यक्ष कुलुङले कुलुङ समुदाय केवल भाषा वा संस्कार मात्र नभई नेपालभित्र एक मौलिक जातिको रूपमा पहिचान स्थापित गरिसकेको दाबी गरे। “कुलुङ समुदाय नेपालको आदिवासी जनजाति किराँती समुदायअन्तर्गत पर्दछ। हामीले आफ्नो भाषा, संस्कार, संस्कृति, ऐतिहासिक भूगोल र सामाजिक मनोविज्ञानको विश्लेषण गर्दै अन्तर्राष्ट्रिय र राष्ट्रिय मापदण्डअनुसार आफूलाई छुट्टै जातिको रूपमा प्रमाणित गरिसकेका छौं,” उनले भने।
उनका अनुसार कुलुङ समुदायले २०६५ सालमै नेपाल सरकारसमक्ष सूचीकृत जातिका रूपमा मान्यता पाउन माग दर्ता गरिसकेको थियो। त्यसपछि डा. ओम गुरुङको नेतृत्वमा बनेको आदिवासी जनजाति सूची परिमार्जन कार्यदलले २०६६ सालमै कुलुङ समुदाय जाति बन्ने सबै मापदण्ड पूरा गरेको ठहर गर्दै सरकारलाई प्रतिवेदन बुझाएको भए पनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन।
“यद्यपि हामी निराश छैनौं,” अध्यक्ष कुलुङले भने, “तीन तहको सरकार बनेपछि हामीले स्थानीय तहबाट सूचीकृत हुने प्रक्रिया अघि बढाएका छौं। संखुवासभाको सिलीचोङ गाउँपालिकाबाट सुरु भएको यो अभियान सोलुखुम्बु, भोजपुर, इलाम, झापा हुँदै काठमाडौंसम्म पुगेको छ र हाल सातवटा स्थानीय तहमा कुलुङ समुदाय सूचीकृत भइसकेको छ।”
उनले अब यो प्रक्रियालाई रणनीतिक रूपमा देशभर विस्तार गरिने बताए। “जहाँ–जहाँ कुलुङ समुदाय बसोबास गर्छ, त्यहाँका स्थानीय सरकारसँग समन्वय गरेर हामी सूचीकृत हुने प्रक्रिया अगाडि बढाउँछौं। आवश्यक परे कार्यविधि र प्रक्रिया बुझाएर सहयोग पनि गर्नेछौं,” उनले स्पष्ट पारे।
अध्यक्ष कुलुङले समुदायभित्र देखिने फरक–फरक दृष्टिकोणलाई साझा सोचमा रूपान्तरण गर्ने पनि आफ्नो प्रमुख लक्ष्य भएको बताए। “हाम्रो भौगोलिक विकटता, शिक्षामा कमजोर पहुँच र राज्यसँगको दूरीका कारण कुलुङ समुदाय पछाडि पारियो।
अब हामी सशस्त्र आन्दोलन होइन, सामाजिक सशक्तीकरण, सचेतना र पहिचानमार्फत अधिकार स्थापित गर्ने बाटोमा जान्छौं,” उनले भने।
उनका अनुसार आगामी कार्यकालमा भाषा, संस्कार, संस्कृति, परम्परा र पहिचानको संरक्षण, उत्थान र प्रवर्द्धनलाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिनेछ। “हाम्रा भावी पुस्तालाई आफ्नो पहिचानमा गर्व गर्न सक्ने बनाउने र राज्यसँग बराबरी पहुँच दिलाउने अभियान नै हाम्रो प्राथमिकता हो,” अध्यक्ष कुलुङले जोड दिए।
नवगठित केन्द्रीय कार्यसमिति
अध्यक्ष: दौलथ पीदीसै कुलुङ
वरिष्ठ उपाध्यक्ष: लाकपद सोम्फोरु
उपाध्यक्षहरू: रामबहादुर कुलुङ, अजय अलङ्कार कुलुङ, सम्झना बान्तावा कुलुङ
महासचिव: दिपेन्द्र कुमार थोरेप्पा
सचिवहरू: संयोगान्त कुलुङ, प्रदिप होङेलु, यमकला कुलुङ
कोषध्यक्ष: डिल्ली कुमारी कुलुङ
सह–कोषाध्यक्ष: कमानसिंह कुलुङ
केन्द्रीय सदस्यहरू:
जैनारायण कुलुङ, हरिकुमार दावार कुलुङ, होमबहादुर कुलुङ, प्रेम कुलुङ, सीता वालाखाम कुलुङ, चन्द्रलाल कुलुङ, भीमबहादुर कुलुङ, सन्देश कुलुङ, दिलमाया कुलुङ, सुवास कुलुङ, टंकराज कुलुङ, गंगाराम कुलुङ, हेमराज थिम्रा कुलुङ, भगत कुमार गदोहो कुलुङ।
महाधिवेशनले नयाँ नेतृत्वलाई बधाई दिँदै कुलुङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरेको छ।