धरान/ जन्मदिन कसैले भव्य पार्टीमा मनाउँछन् भने कसैले सामाजिक सेवामार्फत समाजमा सकारात्मक सन्देश छर्छन्।
धरानका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व लक्ष्मी कान्त विहानी(एल के.) ले यस वर्ष आफ्नो जन्मोत्सवलाई मानवीय कार्यमा समर्पित गर्दै उदाहरणीय कार्य गरेका छन्।
विहानीले आफ्नो जन्मदिन धरान–१५ काठेपुल नजिक रहेको सिलाम साक्मा बालविकास केन्द्रका नानीहरूसँग मनाउँदै केन्द्रलाई झण्डै ३० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेका छन्। उनले बालबालिकाका लागि खाद्यान्न, काठका चारवटा कुर्सी, पुस्तक राख्ने ¥याक, किचन टेबल, फिल्टर लगायत आवश्यक सामग्री हस्तान्तरण गरेका हुन्।
विहानीले विगत वर्षदेखि नै जन्मदिनमा सामाजिक कार्य गर्दै आएको उल्लेख गर्दै यसपटक बालविकास केन्द्रमा सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए। उनले आगामी दिनहरूमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
बालविकास केन्द्रका संरक्षक तथा शिवगंगा टोल विकास संस्थाका अध्यक्ष रत्नकुमार नेम्वाङले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै साना–साना सहयोगले नै केन्द्रलाई समृद्ध बनाउन सकिने बताए। उनले अन्य दाताहरुलाई पनि सहयोगका लागि अगाडि आउन आग्रह गरे।
त्यसैगरी केन्द्रका अर्का संरक्षक गंगाराम राईले पनि बालबालिकाको भविष्यका लागि यस्ता सहयोग अत्यन्त महत्वपूर्ण हुने भन्दै सबैमा सहकार्यको अपिल गरेका छन्।
यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको उक्त बालविकास केन्द्रमा हाल २५ जना नानीहरू अध्ययनरत छन्। विहानीको यस मानवीय पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।