फाईल तस्बिर
सुनसरी/मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या छिमेकी पदम अधिकारीले गरेका हुन् भन्ने निष्कर्षमा प्रहरी पुगेको छ।
करिब ५०–५२ वर्षका पदमलाई नियन्त्रणमा लिएर विस्तृत सोधपुछ जारी छ।
प्रहरी स्रोतका अनुसार उनले हत्या गरेको स्वीकार गरिसकेका छन्, यद्यपि प्रहरी अधिकारीहरूले आधिकारिक रुपमा पुष्टि गर्न बाँकी छ।
असोज २१ गते घरबाट निस्किएकी अंशुको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएको भयानक अवस्थामा भेटिएको थियो।
शव कुहिंदा धेरै प्रमाण नष्ट भएकाले अनुसन्धान निकै चुनौतीपूर्ण बनेको प्रहरीको भनाइ छ।
प्रारम्भिक अनुसन्धानमा अंशु घरबाट हराएको दिनमै हत्या भएको र पछि वनमा फालिएको खुलेको छ।
बलात्कारपछि हत्या गरिएको हो कि होइन भन्नेबारे भने यकिन निष्कर्ष आउन बाँकी छ। घटनास्थलमा भेटिएका ट्राउजर, हाफपाइन्ट र चप्पलले यौन दुव्र्यवहारको शंका उत्पन्न गरे पनि प्रमाणिक पुष्टि नभएको प्रहरीले जनाएको छ।
अभियुक्त पदम अधिकारीले किन र कसरी हत्या गरे भन्नेबारे प्रहरीले खुलाएको छैन।
तर, अभिभावकसँगको पुरानो रिस–रञ्जिसका कारण नियोजित रूपमा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रहरीका विभिन्न युनिट — मोरङ जिल्ला प्रहरी, कोशी प्रदेश प्रहरी, र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) — सम्मिलित टोलीले लामो अनुसन्धानपछि मुख्य आरोपी पहिचान गर्न सफल भएको हो।
अनुसन्धानमा स्थानीय बासिन्दादेखि अंशुका अभिभावक, शिक्षक, सहपाठी र छिमेकी सबैसँग सोधपुछ गरिएको थियो।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार,
“घटना अत्यन्त संवेदनशील छ। पोस्टमार्टम, डिएनए र फरेन्सिक रिपोर्ट आएपछि मात्रै सबै कुरा यकिन हुन्छ,” उनले भने।
अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ की विद्यार्थी थिइन्।
कमजोर आर्थिक पृष्ठभूमिका परिवारकी अंशुको मृत्युले लेटाङ क्षेत्र शोकमा डुबेको छ। वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले घटनाको स्वरूप हेर्दा बलात्कारपछि हत्या भएको आशंका प्रबल देखिने बताए।
प्रहरीले डिएनए परीक्षणका लागि नमुना पठाइसकेको छ। अन्तिम निष्कर्ष रिपोर्ट आएपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।