धरान/ श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक दर्शनका रूपमा ‘हर्कवाद’ प्रस्तुत गर्दै विस्तृत अवधारणा पत्र र एजेन्डाहरू सार्वजनिक गरेको छ।
पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रकृति, संस्कृती र प्रविधिको सन्तुलित विकासमार्फत मात्र मानव समाजको रक्षा र समृद्धि सम्भव हुने धारणा राख्दै त्यसका लागि अनिवार्य श्रम र श्रमदान नै हर्कवादको केन्द्रिय सिद्धान्त भएको स्पष्ट पारे।
साम्पाङका अनुसार अभाव, गरीबी, विभेद तथा तिनबाट उत्पन्न द्वन्द्व र हिंसा अन्त्य गर्न श्रमको निरन्तर अभ्यास अपरिहार्य छ। यही सिद्धान्तलाई आधार मानेर पार्टीले राजनीतिक, आर्थिक, सामाजिकदेखि शैक्षिक क्षेत्रसम्मका विस्तृत नीतिगत एजेन्डा सार्वजनिक गरेको हो।
पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, एक कार्यकाल पाँच वर्ष र अधिकतम दुई कार्यकाल सीमित हुने प्रस्ताव अघि सारेको छ। राष्ट्रपति–उपराष्ट्रपति एकै लिंग वा एकै जाति समुदायका नहुने, राष्ट्रपति गैर–राजनीतिक विशेषज्ञ वा सांसद समावेश गराएर सरकार गठन गर्न सक्ने, मन्त्री बनेका सांसदको पद निलम्बन हुने जस्ता प्रावधानहरू पार्टीका मुख्य प्रस्तावमा समावेश छन्।
देशद्रोह, भ्रष्टाचार वा अनैतिक कृत्य पुष्टि भएमा संसदबाट महाभियोग चलाउन सकिने व्यवस्था, संसद र सरकार दुवैको कार्यकाल पाँच वर्ष, संघमा दुई सदन र प्रदेशमा एक सदन रहने व्यवस्था पार्टीको अर्को ठोस धारणा हो।
प्रतिनिधिसभामा पूर्ण समानुपातिक प्रणाली, राज्यका अंगहरूमा आदिवासी, जनजाति, खसआर्य, मधेशी, दलित, मुस्लिमलगायत समुदायहरूको समानुपातिक अधिकार सुनिश्चित गर्ने नीतिगत अडान पनि पार्टीले राखेको छ।
राज्य धर्मनिरपेक्ष रहने, तर व्यक्तिको धार्मिक स्वतन्त्रता सुरक्षित रहने, जबर्जस्ती धर्म परिवर्तनलाई दण्डनीय मानिने, मुलुकभरका मौलिक भाषालाई राष्ट्रिय भाषा मानिने तथा शिक्षा र प्रशासनमा ती भाषाको प्रयोग गर्ने प्रस्ताव पनि सार्वजनिक गरिएको छ।
साम्पाङले वैज्ञानिक कर प्रणाली, धनीबाट बढी कर लिएर गरिबलाई संरक्षण गर्ने नीति, श्रमदानमार्फत विकासलाई जनतामै केन्द्रित गर्ने, पहुँच र शक्तिको भरमा हुने असमान विकास अन्त्य गर्ने, काठमाडौं–केन्द्रित विकास मोडेललाई गाउँ–केन्द्रित बनाउन आवश्यक ऐन–कानून निर्माण गर्ने बताए।
अनावश्यक प्लटिङ रोक्ने, कम उब्जनी भएका क्षेत्रमा मात्रै बस्ती विस्तार गर्ने, सुकुम्बासी समस्या समाधान गर्ने, भूमाफिया नियन्त्रण गर्ने, कृषि र उद्योगलाई प्राथमिकता दिने नीतिहरू पनि पार्टीले अघि सारेको छ।
शिक्षामा जेन–जेड पुस्तालाई उत्पादन, निर्माण र आविष्कारमा जोड दिने, हप्तामा तीन दिन अध्ययन हुने मोडेलबाट पाठ्यभार कम गर्ने, जीवनपयोगी सीपमुखी शिक्षा लागू गर्ने योजना साम्पाङले प्रस्तुत गरे।
आर्थिक क्षेत्रमा अप्रासंगिक कानुन संशोधन, प्राकृतिक स्रोत–साधनको दिगो उपयोग, पूर्वाधार निर्माण, राष्ट्रिय हितमा सीमित अवधिको विदेशी लगानी स्वीकार, अनुचित बजार नियन्त्रण, स्वदेशी उत्पादन र उपभोग प्रवर्द्धन, नवीन प्रविधि प्रयोगमार्फत पूँजी निर्माण, निर्यातमुखी अर्थतन्त्र विकासजस्ता नीति पार्टीको आर्थिक दृष्टिकोणमा समावेश छन्।
साम्पाङले पाँच वर्षभित्र विकासको गति स्पष्ट रूपमा देखिने र १० वर्षभित्र लक्ष्य प्राप्त हुने राष्ट्रिय आर्थिक कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।