धरान/ सुनसरीको धरान उपमहानगरपालिका–२० को कोकाहा खोलामा प्रहरीले ठूलो परिमाणको गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ करिब ७:४० बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–०५३ प ९९८२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा झोलाभित्र गाँजा ११ किलो पदार्थ फेला पारेको हो।
मोटरसाइकल चालक धनकुटा सहिदभूमि गाउँपालिका–१ का २३ वर्षीय सिद्धार्थ राईलाई उक्त गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।