धरान/ मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी तर्फको रिक्त पद पूर्ति गर्दै श्री अन्वेष अग्रवाललाई नयाँ सञ्चालकमा नियुक्त गरेको छ। बैंकको २६६ औं सञ्चालक समिति बैठक, मिति २०८२ कार्तिक २१ गते बसेको बैठकले सर्वसम्मत रूपमा अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकका अफिसर सञ्जोग श्रेष्ठका अनुसार संस्थापक तर्फको पद लामो समयदेखि रिक्त रहेकाले त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अग्रवाललाई चयन गरिएको हो।
“उनको व्यवस्थापकीय क्षमताबाट बैंकको सेवा विस्तार, नीति–व्यवस्थापन तथा रणनीतिक निर्णयहरू अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ,” अफिसर श्रेष्ठले बताए।
धरानस्थित प्रधान कार्यालयमा बसेको बैठकले बैंकको दीर्घकालीन योजना र संस्थागत दरिलोपनका लागि यो नियुक्ति महत्वपूर्ण कदम भएको जनाएको छ।