सुनसरी/ ईनरुवामा प्रहरीले ब्राउन सुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ।
मोरङको लौकहीबाट ईनरुवा तर्फ आउँदै गरेको अवस्थामा प्रहरीले शुक्रबार साँझ करिब ५ बजे ईनरुवा–४ बसचौकस्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाको संयुक्त टोलीले को.३ प. ६६२३ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ का ३४ वर्षीय सुशिल भन्ने मोहनबहादुर श्रेष्ठ र ऐं.ऐं बस्ने २७ वर्षीय अहिस ताम्रकार रहेका छन्।
प्रहरीले चेकजाँचका क्रममा चालक सुशिलको साथबाट दुईवटा कालो प्लास्टिकमा पोका पारिएको अवस्थामा ५.८५ ग्राम (पाँच ग्राम आठ सय पचास मिलिग्राम) तौलको ब्राउन सुगर फेला पारेको जनाएको छ।
फेला परेको लागूऔषध र प्रयोग गरिएको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।