म भएर नै
तिमीलाई
तिमी मेरो हुने गरी
प्रेम गर्छु...
यिनै प्रेमिल हरफहरूबाट ‘अन्तिम सेलो’ कविता सङ्ग्रहको ढोका खोल्छु म । इन्दु नेपाल योन्जन कोमल हृदय भएका स्रष्टा हुन् । हरेक क्षण दवाबमा काम गर्नुपर्ने स्वास्थ्य संस्थाजस्तो क्षेत्रमा सक्रिय भएर पनि उनी काव्य लेखनमा समर्पित छन् । संवेदनशील हृदयका धनी कवि योन्जनको कविता सङ्ग्रह हो, ‘अन्तिम सेलो’ ।
अत्यन्तै कोमल शब्दहरूको पठनले गहिरो प्रेमभाव स्पर्श गर्न पाइन्छ, ‘प्रेम गर्छु’ कवितामा । त्यस्तै सङ्खुवासभा जिल्लाको ग्रामीण परिवेशलाई कवितामा उतारेर मातृस्थान पहिचानको पक्षधर बनी बलियो रूपमा उभिएका कवि योन्जनको ‘प्रिय थेबा’ शीर्षकको कविता पढिरहँदा प्रेमको वियोगान्त दृश्यले हृदयलाई निकै धारिलो पाराले रेट्न सक्नु कविताको शक्तिका रूपमा लिन्छु म ।
उमेरको गणितमा कैयौँ वर्षहरूले अनेकौँ रूप देखाएर जान्छन् । यसै क्रममा भुइँचालो, महामारीजस्ता प्राकृतिक विपद्ले कष्टकर एवम् दर्दनाक चोट दिएर जाँदा पनि बाआमाले भोगेका अनगन्ती यातनाहरू कहिल्यै बगाउन नसकेको धमिलो यथार्थलाई कविले ‘तक्मारे खोलाको वियोगान्त कथा’ शीर्षकको कवितामा चित्रण गरेका छन् । भाषिक पहिचानलाई समेत दरिलो आधार बनाएर लेखिएको यो कविताले मन जित्यो ।
आफ्नो जातीय र सांस्कृतिक पहिचानको जगमा उभिएर आपूm हुनुको पहिचानलाई उनले ‘अनुत्पादक प्रश्न’ शीर्षकको कवितामार्पmत् राज्यसँग प्रश्न गरेका छन् । प्रस्तुत कवितामार्पmत् सोधिएका प्रश्नहरू जायज भएको मलाई पनि लाग्यो । आफ्नो गाउँ र यसको सौन्दर्य वर्णनमा अलिकति पनि लोभ नगरी कवि योन्जन ‘कोक्सा’ कवितामा पोखिएका छन् । आफ्नो माटोप्रतिको अनुपम मोहलाई कलात्मक ढङ्गले कवितामा उतार्नु उनको काव्यिक उचाइको नमुना लाग्यो ।
देशलाई केन्द्रमा राखेर यसको वर्तमान र भविष्यमाथिको चिन्तालाई कविले ‘बाटो – एक’ शीर्षकको कवितामा निकै गहिरो तरिकाले उठान गरेको पाइन्छ । एउटी आमाले आफ्नो नाबालक सन्तानलाई गर्ने प्रेम र उसको मृत्युको भयले रन्थनिएको मथिङ्गलबाट अभिव्यक्त भएका कारुणिक शब्दहरूलाई एक डाक्टरको सामुन्ने आँचल फिँजाएर आफ्नो बच्चाको प्राणको भिख मागिरहेको हृदयविदारक घटनालाई ‘प्रश्नको वाण’ शीर्षकको कवितामा सचित्र देखाउन सक्ने कविको खुबीलाई बहुत प्रेम छ । यस कविताले आँखा भिजाएको पनि सत्य हो ।
राजनीतिक, सामाजिक तथा आर्थिक हिसाबले पनि वैदेशिक रोजगारको बाटो रोज्न बाध्य भएसँगै गाउँमा हुने घटनाहरूमा युवाको उपस्थिति न्यून रहेको र यसले हाम्रा संस्कार–संस्कृतिहरूमा प्रत्यक्ष प्रभाव पारिरहेको वास्तविकतालाई पनि ‘मलामी’ शीर्षकको कवितामा प्रस्तुत गरिएको छ । प्रस्तुत कवितामा सामाजिक सञ्जालको परिदृश्यसमेत समेटेर मानवीय संवेदनालाई जोगाउन आग्रह गरेको दृश्य देख्न सकिन्छ । जनयुद्धताका स्कुल पढ्दै गरेका विद्यार्थीहरूलाई राजनीतिमा आबद्ध गराइए पनि आन्दोलन सफल भइसकेपछि उनीहरूको खोजखबर नगरी जनयुद्धलाई दिवसका रूपमा मात्रै मनाइरहँदा ती योद्धाहरूका घाउमा नुनचुक छर्किएको कहालीलाग्दो अवस्थाबारे ‘दिवस मात्र सम्झन्छन्’ शीर्षकको कवितामा पढ्दा मन भक्कानिन्छ ।
जिन्दगी र समयबिचको अन्तर्सम्बन्धलाई नजिकबाट बुझ्न ‘समय’ शीर्षकको कविता पर्याप्त लाग्यो । छोटो आयामको यो कविता लामो अर्थबोध गराउन सफल छ ।
‘आमा र निक्खर सेतो पूmल’ शीर्षकको कवितामा मेरा शब्दहरू अपुग रहनेछन्, जसलाई हृदयले बुझ्छ, आँखा बेस्सरी रुन्छ, मनमा छट्पटी हुन्छ । हातबाट भर्खरै आमा छुटेभैmँ हुन्छ । एक हिसाबले ‘आमा’ लाई सम्झिन यो कविता नै काफी लाग्यो । यो कविता कविले सायद आँशुको मसी भरेर मनको कलमले मुटुको पानामाथि लेखेको महसुस भयो मलाई । यसको भावले दीर्घकालीन असर गरिरहने छ ।
नेपाली कविताको आकाशमा एउटा चम्किलो तारा ‘अन्तिम सेलो’ दिएकोमा हार्दिक बधाई छ, आदरणीय कवि इन्दु नेपाल योन्जनज्यूलाई ।
–रोशन परियार