धरान/धरान–८ स्थित सेउती पुलनजिक आज साँझ करिब ५:३० बजे मिनी ट्रक, बस र स्कुटी एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७७८६ नम्बरको मिनी ट्रक सडकछेउमा पार्किङ गरिएको को १ क ६५४४ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो।
सो क्रममा विपरीत दिशाबाट आइरहेको प्र.१–०२–०४७ प ३९९३ नम्बरको स्कुटी पनि सोही बसमा ठोक्किएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) भिषणबाबु राईका अनुसार, दुर्घटनामा मिनी ट्रक चालक नेत्र गौतम (मोरङ सुन्दरहरैचा–५) र सह–चालक सुजन तामाङ (संखुवासभा सभापोखरी–२) सहित स्कुटी चालक सुमना राई र पछाडि सवार सुबास राई घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधनलाई अस्थायी प्रहरी चौकी तिनकुनेको नियन्त्रणमा राखिएको छ भने जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।