सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित विराटचोकमा रहेको भदौ २४ गतेको आन्दोलनका क्रममा तोडफोड र आगजनीको भयो।
नेपालीरिका होटलका प्रबन्ध निर्देशक आकाश दुलालले एक भावुक स्टाटस लेख्दै भनेका छन् : ६ महिनाको कलिलो शिशु अवस्थामा बुवालाई गुमाएर आमाको भरपोषण र रेखदेखमा हुर्किनु भएको मेरो बुवाको ३२ वर्षको अथक मेहनत, परिश्रम लगाब र रगतको थोपा थोपाले सिन्चित थियो नेपालीरिका होटल। जसलाई बुवाले सुन्दरहरैचाको धरोहरको रूपमा यसलाई निर्माण गरे।
हरेकपल्ट म बुवालाई विदेशमा लगानी गर्ने र विदेशमै व्यवसाय गर्नुपर्छ भनेर भन्ने गर्थे। जहाँ हामी सुरक्षित व्यवसाय गर्न सक्छौँ भन्थे। तर हरेक पल्ट बुवाले "जे गर्ने हो यही देशमा गर्ने हो , यहि ठाउँमा गर्नुपर्छ।" भनिरहनुभयो र बुवाले म जेन-जी युवा पुस्तालाई यो हस्तान्तरण गरेर यसलाई चलाउने र अगाडि बढाउने जिम्मा दिए।
व्यावसायिक कामका लागि अमेरिकाको न्युयोर्क सिटीमा छु। नेपाल फर्किनु अघि बुवाको कैयौँ प्रश्नको जवाफ दिनुछ। तर मसँग कुनै प्रश्नको उत्तर छैनन्। म निशब्द छु। भाव विभोर छु। मेरा वाक्यहरु रोकिएका छन्, मेरा गलाहरू अवरुद्ध छन्। त्यसैले यो शब्द मार्फत व्यक्त गर्दैछु। निदाउन खोज्छु सपनामा पनि ती प्रश्न घेरिएको छु आखिर किन भयो? के का लागि भयो? कसले गर्यो? जसले गर्यो, उसले के पायो?
म युवा हुँ। जेन-जी हुँ। बुबाले सपना र लक्ष्यलाई एकै ठाउँमा राखेर मलाई दिनुभएको नेपालीरीका होटल, होटल मात्र थिएन।
यो सुन्दरहरैचाको विकास को क्रम थियो, त्यहाँको शान थियो। यो केवल भौतिक संरचना मात्र थिएन, सबैको विश्वास अडेको गौरव थियो, तर हेर्दाहेर्दै त्यो खरानी भएर गयो। आगोको लप्काले नेपालीरिका जलिरह्यो। त्यहाँ इटा, माटो, ढुङ्गा, सामानहरु मात्र जलेन एउटा उद्योगीको विश्वास , व्यवसायीको निष्ठा, समाजको विकास, प्रत्येक कर्मचारीको भरोसा र मेरो जो म आफूलाई जेनजी भन्छु, सपना सबै जलिरह्यो।
जुन समाजमा बुबाले सबै कुरा लगानी मात्र गर्नुभएन , समाजलाई अगाडि बढाउन एउटा सोच दृढ संकल्प र सबैलाई विश्वासमा लिएर, सबैलाई आफैसँग अगाडि बढाउनुभयो।
हजार जना भन्दा माथिलाई रोजगार दियौं, सरकारलाई जहिले कमाएको हिस्साको पारदर्शी तरिकाले तिरीरह्यो , आफूले कमाएको हिस्सालाई समाजमा लगानी गर्यो तर आज केही व्यक्तिले आवेग मा आएर, कोही व्यक्तिको व्यक्तिगत ईर्ष्या र रिसले प्रगति र उन्नति देख्न नसक्ने मनोभावले गर्दा यो अराजक, अनैतिक विवेकहीन कार्य गर्नुभयो र गर्न उक्साउनुभयो। सुन्दरहरैचाका लागि आफ्नो सम्पूर्ण युवा जीवनलाई त्यसैमा लगाउनुभयो। जसको परिणाम आज नेपालीरीका होटल जल्दै खरानी भयो।
जेन-जीको आन्दोलन भ्रष्टाचार विरुद्ध अहिलेका यावत समस्या विरुद्ध थियो, न कि कसैको परिश्रम र प्रगतिको मेहनत र इमान्दारिताको विरुद्धमा थियो। तर, त्यहाँ सकारात्मक विचार दृढ सोच मेहनत परिश्रम मा तपाईहरुले परेड खेलिरहनुभयो। 'देश र समाजलाई दिनुपर्छ, आफू मात्र बनेर हुँदैन', भन्ने पवित्र विचारमा तपाईहरुले आगोको ज्वालामुखी विस्फोटन गराउनु भो।
सबैजना हेरिरहनुभयो। मुखदर्शक बनेर साक्षी बनेर अराजक मानिसहरूलाई कसैले रोक्नु भएन, हिंसालाई बढुवा दिनुभो, व्यक्तिगत सम्पत्तिलाई ध्वस्त पार्ने मौन अनुमति दिनुभयो। सबैजना किन चुप रहनुभयो? सुन्दरहरैचाको एकबद्धता, सङ्कल्प माथि कुठराघात भइरहँदा सबै अन्धो बनिदिनुभयो। सबै नसुन्ने नदेख्ने जसरी बसिदिनु भयो, जहाँ सबैको विश्वास जलिरह्यो।
हो, एक दिन तपाईँको आफ्नो पुस्ताले प्रश्न गर्नेछ:
हजुरबुवा, किन त्यो दिन मौन बस्नुभयो?
हजुरआमा, किन कराउनु भएन?
बुवा, तपाईँले किन आगो लगाउनुभयो?
आमा, त्यहाँ सरसामानहरू किन चोर्न उद्दत हुनुभयो?
दिदी, त्यहाँका सिसाहरू फोड्नलाई किन अग्रसर हुनुभयो?
दाइ, किन पर्खाल र ढोकाहरू फुटाउन प्रेरित गर्दै अगाडि बढ्नुभयो?
नेपालीरिका होटल तपाईँहरू सबैले किन जलाउनुभयो?
आज हजुरहरु नेपालीरीका होटल जल्दाको तातोले न्यानो महसुस गर्दै तपाईँ निदाउनुभयो होला। तर, हामी हाम्रो परिवार र म निदाउन सकिन। म सुत्न सकिन तर, यो प्रश्न तपाईँलाई तपाईंका पछिल्लो पुस्ताले गरेको दिन तपाईं त्यो तातो न्यानोमा पनि कठ्याङ्ग्रिनु हुनेछ, मनमा बेचैनी आउनेछ। पश्चातापले तपाईँलाई भतभत पोल्नेछ। त्यो दिन लाजले पनि तपाईँलाई देखेर लाज मान्नेछ।
बुवा, म यति भन्न चाहन्छु। म हारेको छैन। म डगमगाएको छैन।। नेपालीरिका होटलको प्रत्येक कोठाको खरानी बोकेर त्यसलाई शिरमा लाउँदै फेरि म उठ्नेछु। र यसलाई पुननिर्माण गर्ने छु। फेरि यसलाई चलाउनेछु। तपाईंप्रति म गर्व गर्छु। पूर्वाञ्चल लुब ओइल (पिएलओ) फेरि उठ्नेछ, हिमाल जस्तै अडिग र अटल रूपमा रहनेछ।
घटनाको सत्यतथ्य उजागरमा सहयोग गर्न आग्रह
नेपालीरिकाका होटलका प्रबन्ध निर्देशक दुलालले २४ गते होटलमा तोडफोड, आगजनी, लुटपाट जस्ता अवाञ्छित घटनाहरूले हामीलाई गहिरो पीडा पुर्याएको भन्दै उक्त दिनको फोटो भिडियो भए उपलब्ध गराईदिन अनुरोध गरेका छन्।
दुलालले विज्ञप्ति जारी गर्दै आन्दोलनकै क्रममा होटलमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले आफ्नो परिवारलाई ठूलो पीडा पुर्याएको उल्लेख गरेका छन्। उनले वर्षौंको मेहनत, पसिना र सपनाबाट बनेको होटल एकै क्षणमा खरानीमा परिणत भएको दुखद अनुभव बाँडे।
“हामीले ठूलो क्षति व्यहोरेका छौँ तर हाम्रो संकल्प अझ मजबुत भएको छ। भवनहरू जल्न सक्छन्, तर सपना, आशा र भविष्य जल्दैनन्,” विज्ञप्तिमा दुलालले भनेका छन्। उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले सो दिनको कुनै पनि तस्वीर वा भिडियो उपलब्ध भएमा इमेल
[email protected] वा व्हाट्सएप नम्बर ९८५२०५७८१५ मा पठाइदिन आग्रह गरेका छन्।
उनले नेपालीरिका होटल अझ सशक्त भएर पुनः उठ्नेछ र यात्रालाई रोक्ने कुनै शक्ति नरहेको स्पष्ट सन्देश दिएका छन्। यस्तै, होटलले तोडफोड, आगजनी र लुटपाटका अपराधीहरूको तस्वीर र भिडियोहरू आमजनताबाट प्राप्त भएको भन्दै धमाधम सार्वजनिक गरिरहेको छ।