वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–२ स्थित चतरा अस्पतालले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।
अस्पताल परिसरमै आयोजित कार्यक्रममा कोशी प्रदेशसभा सदस्य ममता तामाङ प्रमुख अतिथि रहिन् भने नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतमले अध्यक्षता गरेका थिए। उपाध्यक्ष प्रदीप बस्नेतले गत वर्षको आर्थिक प्रतिवेदन, प्रगति विवरण, आगामी योजना तथा रणनीति प्रस्तुत गरेका थिए।
निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नवीन अधिकारीका अनुसार अस्पतालले वार्षिक नीतिगत दस्तावेजसहित बजेट प्रस्तुत गरी आगामी वर्षका प्राथमिकता तय गरेको हो।
सो अवसरमा आर्थिक वर्ष २०८१/८२ को सामाजिक तथा आन्तरिक–बाह्य लेखापरीक्षण प्रतिवेदन पनि प्रस्तुत गरियो।
२०७५ भदौ १ गतेदेखि वर्षभर बिहान ७ बजे देखि बेलुकी ८ बजेसम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको चतरा अस्पतालमा सुनसरीसहित उदयपुर, धनकुटा र भोजपुरका बिरामी उपचारका लागि आउने गरेका छन्। यसैबीच २०७८ सालमा वडालाई पूर्ण स्वास्थ्य बीमा युक्त वडा घोषणा गरिएको थियो।
हाल १५ शैय्याको चतरा अस्पताल २०५६ माघ २१ गते प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नति पाएको हो।