विराटनगर । नेपालका चर्चित सुपरमार्केट व्यवसायी मिनबहादुर गूरुङ र उनकी धर्मपत्नी सावित्रा गुरुङले उदघाटन गरेको झापाको दमक स्थित भाटभटेनी सुपरमार्केट वातावरण प्रभाव मुल्यांङकन प्रतिवेदन (इआईए) स्विकृत नभै सञ्चालनमा आएको खुलेको छ ।
दमक नगरपालिका ९ चिया दोकानमा २७ औ शाखाका रुपमा निर्माण भै गत २३ माघ २०८१ देखी औपचारिक उदघाटन भएर सञ्चालनमा आइसकेको उक्त्त भाटभटेनी सुपरमार्केटको अझै ईआईए प्रतिवेदन स्विकृत भैनसकेको खुलेको हो । झण्डै डेढ करोडको लागतमा २ लाख बर्गफिट क्षेत्रफलमा रहेको १लाख ५० हजार वर्गफिटको भवन रहेको उक्त्त दमक सुपरमार्केटको ईआईए प्रतिवेदनका लागि भाटभटेनीले कोशी प्रदेशको वतावरण मन्त्रालयमा निवेदन दर्ता गराएर अध्ययनका लागि कार्यसूची मात्र प्राप्त गरेको छ । तर अझैसम्म भाटभटेनीले वातावरण अध्ययन प्रतिवेदन नबुझाएकोले मन्त्रालयबाट स्विकृत हुन नसकेको मन्त्रालयको वतावरण शाखाले जनाएको छ ।
मन्त्रालयका अनुसार कुनै नयाँ संरचनाहरु निर्माण गर्दा पहिले अनिवार्य वतावरण मुल्यांकन प्रतिवेदन स्विकृत गराउनुपर्छ । त्यसमा पानी कति खपत गरिन्छ , सुरक्षाको अवस्था के कस्तो छ भन्नेदेखी आसपासका बासिन्दाहरुमा के कस्तो असर प्रभावपर्छ र निर्माण भैसकेपछिको सुरक्षाको अवस्था के भन्ने समेत हेर्नुपर्दछ । तर भाटभटेनीले प्रतिवेदन नबुझाएकोले अझैसम्म मन्त्रालयले वातावरण निरिक्षक पठाएर चेकलिष्ट अनुसार जाँच गराउन पाएको छैन ।
भाटभटेनीका प्रवन्ध निर्देशक मिनबहादुर गुरुङले आफनो पहुँच प्रयोग गरेर कानुनको मापदण्डलाई मिचेर ईआईए प्रतिवेदन स्विकृत नै नगरि दमकको २७ औ शाखाका रुपमा गत माघदेखी नै मार्केट सञ्चालनमा ल्याइसकेका छन । यो सबै जानकारी पाएर पनि कोशी प्रदेश सरकारको वातावरण मन्त्रालय भने निरिह बनेर कहिले भाटभटेनीले ईआईए प्रतिवेदन बुझाउला र चेकलिष्ट ओके गरेर स्विकृत गरौला भनेर पर्खेर बसिरहेको छ ।
कोशी प्रदेश वन तथा वतावरण मन्त्रालयका वतावरण निरिक्षक हरिसंकर झाले भाटभटेनी दमकले इआइए प्रतिवेदनका लागि छलफल गरेर कार्यसूची लगेपनि प्रतिवेदन भने बुझाइन नसकेकोले स्विकृत हुन बााकी नै रहेको बताए । वतावरण निरिक्षक झाले भने , ‘दैनिक २० हजार लिटर भन्दा बढि पानी प्रयोग हुने र १० हजार बर्गमिटर भन्दा बढि क्षेत्रफल ओगटने संरचनाको अनिवार्य वतावरण प्रभाव मुल्यांकन अध्यन गरेर प्रतिवेदन स्विकृत गराउनुपर्छ तर मन्त्रालयबाट अझै प्रतिवेदन स्विकृत भैसकेको छैन ।’,
भाटभटेनी सुपरमार्केट दमक शाखाका मनेजर प्रमिला घलेले इआइए प्रतिवेदनबारे आफुलाई केही पनि थाहा नभएको बताइन । भनिन , ‘मलाई त यसवारे केही थाहा छैन मत पहिलो पल्ट इआइए प्रतिवेदन भनेर सुन्दैछु । ’मन्त्रालयको वतावरण शाखाका अनुसार भाटभटेनी दमकले ३१ बैसाख २०८० मा पहिलो पटक वतावरण प्रभावमुल्यांक स्विकृतिका लागि निवेदन दिएको थियो ।
८ असार २०८० मा उक्त्त प्रतिवेदन उपर मन्त्रालयमा छलफल भएको थियो । १४ साउन २०८० मा भाटभटेनीले क्षेत्रनिर्धारणका लागि पुन ईआईए प्रतिवेदनको कार्यसूची माग गर्न निवेदन गरेको थियो । त्यसपछि मन्त्रालयले२५ मंसिर २०८० मा पुन मन्त्रालयमा कार्यसूचीवारे छलफल भएको थियो । २९ कार्तिक २०८१मा दमक नगरपालिकाको ९ नम्बर वडा कार्यालयले इआईए प्रतिवेदन मन्त्रालयमा पेश गरेको थियो ।
फेरि ३ पुस २०८१ मा उक्त्त प्रतिवेदन उपर मन्त्रालयले छलफल गरेर थपघटको सुझाव दिएको थियो । र, २४ पुस २०८१ म भाटभटेनीलाई कार्यसूची अनुसार ईआईए प्रतिवेदन तयार गरेर बुझाउन मन्त्रालयले राय सुझाव पठाएको थियो । तर मन्त्रालयले राय सुझाव पठाएको ६ महिना वितिसकेपनि अझै भाटभटेनीले कार्यसूची अनुसारको ईआइए प्रतिवेदन मन्त्रालयमा बुझाएको छैन ।
भाटभटेनी सुपर मार्केटको कोशी प्रदेशमा राजधानी विराटनगर , सुनसरीको ईटहरी र धरान अनि झापाको दमक र विर्तामोडमा भाटभटेनी सुपरमार्केटका शाखाहरु छन । तर झापाको दमक बाहेक अन्यत्र कुनै पनि शाखा स्टोर्सको ईआइए प्रतिवेदन स्विकृत प्रदेश वतावरण मन्त्रालयमा अभिलेख छैन ।
कोशी प्रदेश वतावरण मन्त्रालय स्थापना भएको ११ बर्ष वितेपनि अझै प्रोएक्ठिटभ रुपमा वातावरण प्रभाव मुल्यांकनको अनुगमन निरिक्षण गर्ने गरेको छैन । दर्ता भएका उजुरीहरु उपर पनि मन्त्रालयले अनुगमनरी कारवाही गर्न सकेको छैन ।