सुनसरी/ सुनसरीको ईनरुवा नगरपालिका–४ बसपार्क क्षेत्रमा प्रहरीले विशेष अभियान सञ्चालन गरी १७.०३ ग्राम लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार राति करिब ९ः३० बजे अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–०५१ प ७७७२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागुऔषध फेला पारेको हो।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५ का ३२ वर्षीय विशाल लिम्बु र ऐ.ऐ. बस्ने ३५ वर्षीय गणेश तामाङ रहेका छन्। चेकजाँचका क्रममा विशाल लिम्बुले मलद्वारमा च्यापी लुकाइराखेको अवस्थामा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको ब्राउन सुगर र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको र उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।