बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिले ४४ औँ विश्वेश्वर प्रसाद कोइराला (बिपी)स्मृति दिवसको अवसरमा प्रकाशपुर बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधवार बिहान आयोजना भएको रक्तदान कार्यक्रममा ८८ पिन्ट रगत संक्लन गरिएको छ ।
नेपाली कांग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिलाई सेवा मार्फत सम्मान तथा स्मरण गर्ने उद्देश्यले रक्त दान कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिका सभापति तथा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले बताए ।
नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नं। १० कार्य समितिको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेता, जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, कार्यकर्ता र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिका सचिव हरिकृष्ण भट्टराईका अनुसार ४४औँ बिपी स्मृति दिवसको अवसरमा तय गरिएका कार्यक्रमअन्तर्गत मंगलबार चतराधाममा बृहत् सरसफाई सम्पन्न गरिएको हो भने बुधबार प्रकाशपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
बिपी स्मृति दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै सञ्चालन गरिएको यस अभियानले सेवा भाव, सामाजिक सेवाप्रतिको जनचेतना अभिवृद्धिमा सकारात्मक सन्देश दिएको आयोजकको विश्वास रहेको छ।