झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको घरेलु विवाद अन्ततः दुवैको ज्यान जाने दुःखद घटनामा परिणत भएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजे दमक नगरपालिका–१ सिरपाली चोक निवासी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच भएको भनाभन झैँ–झगडामा परिणत भएको थियो।
विवादका क्रममा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गर्दा उनको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो। त्यसपछि धनबहादुरले आफ्नै घरको अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए। उनलाई उनकी २५ वर्षीया छोरी प्रियंका दर्जीले झुण्डिएको अवस्थामा देखेपछि पासो काटेर भुइँमा झारेकी थिइन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दुवैलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्याएको थियो।
तर, दिउँसो करिब ३:३० बजे चिकित्सकले परीक्षण गर्दा दुवै जनाको मृत्यु भइसकेको घोषणा गरेका हुन्। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा राखेको जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।