विराटनगर/ कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन सोमबार सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको शुभारम्भ गरिएको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्दै प्रदेश सरकारले लक्ष्यअनुसार राजस्व संकलनमा चुनौती खेपिरहेको भन्दै यो कार्यालयले त्यसलाई सहज बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, “जनतामा करको बोझ नपर्ने गरी राजस्व स्रोतको पहिचान गरी संकलन गर्ने हाम्रो उद्देश्य हो । यो कार्यालय त्यसमा टेवा पुग्नेछ ।”
प्रदेश सरकारहरू मध्ये पहिलोपटक यस्तो संरचना स्थापना गरेको कोशी प्रदेशले गत आर्थिक वर्षमा ४ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८ प्रतिशत सफलता हासिल गरेको थियो । यस वर्ष ५ अर्ब ५० करोड राजस्व उठाउने लक्ष्य लिइएको छ ।
उद्घाटन समारोहमा प्रदेशसभा सदस्य रमेश बस्नेत, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, मुख्यमन्त्री हिक्मतकुमार कार्कीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
यो कार्यालय सञ्चालनसँगै कोशी प्रदेशको राजस्व प्रशासन अझ पारदर्शी र दिगो हुने अपेक्षा गरिएको छ ।