नयाँदिल्ली/ भारतको उत्तराखण्ड राज्यको धराली सहरमा मंगलबार आएको आकस्मिक बाढीले विनाश निम्त्याएको छ। बाढीपछिको उद्धार प्रयासमा भारतीय सेनाले बुधबारदेखि स्निफर कुकुर, ड्रोन र भारी उपकरण परिचालन गर्दै हराइरहेका व्यक्तिहरूको खोजीलाई तीव्र बनाएको छ।
साँघुरो पहाडी उपत्यकामा परेको डरलाग्दो हिलो र फोहोरको भेलले केही भवनहरू बगाएको थियो। कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ११ जना सैनिकसहित झन्डै १०० जना अझै बेपत्ता छन्।
भारतीय सेनाले भनेको छ, "थप सेना टुकडीहरू, ट्र्याकर कुकुर, लजिस्टिक ड्रोन, माटो खन्ने मेसिन आदि उद्धार कार्यमा खटाइएको छ।" हेलिकप्टरमार्फत आवश्यक सामग्री, औषधि र उद्धार प्रयास पनि भइरहेको जानकारी दिइएको छ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले यो बाढी तीव्र ‘आरी घोप्टे’ वर्षाका कारण आएको भन्दै उद्धार कार्यलाई ‘युद्धस्तर’ मा अगाडि बढाइएको बताएका छन्।
भारतीय मिडियामा सार्वजनिक भएका भिडियोहरूमा बाढीले पर्यटकीय क्षेत्रका भवनहरू समेत बगाएको देखिन्छ। मानिसहरू भाग्दै गरेको, र भवनहरू फोहोर र हिलोको भेलमा समाइएका दृश्यहरू देखिएका छन्।
रक्षा राज्यमन्त्री सञ्जय सेठका अनुसार मंगलबार रातिसम्म चार जनाको मृत्यु पुष्टि भइसकेको छ भने १ सय जनाभन्दा बढी अझै सम्पर्कविहीन छन्।
बचाउ र उद्धार कार्य जारी छ भने प्रभावित क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको जनाइएको छ।