सुनसरी । लागू औषधको अवैध कारोबारमा संलग्न रहेका व्यक्तिहरू एकपछि अर्को गरी प्रहरीको फन्दामा परेका छन्।
मिति २०८२ साउन २० गते एकै दिन दुई फरक स्थानबाट तीन जना पक्राउ परेका छन् भने उनीहरूबाट ब्राउन सुगर र लाखौं रुपैयाँ नगद बरामद गरिएको छ।
पहिलो घटना, कोशी गाउँपालिका–१ लौकही बजार चौकमा घटेको हो।
लागू औषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले कोशी गाउँपालिका–४ जुदगंजका ३४ वर्षीय मनोज कुमार खत्वेलाई चेकजाँच गर्दा स्रोत खुल्न नसकेको रु. २ लाख ५६ हजार फेला पारेको हो।
सोही क्रममा भारतको अररिया, बेल्हाका ४५ वर्षीय राजकुमार खत्वेलाई जाँच गर्दा ८८.३८ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यसै दिन इटहरी नगरपालिका–४ बसचोकमा अस्थायी प्रहरी पोष्ट र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले बराहक्षेत्र–२ का २० वर्षीय रमेश बस्नेतलाई चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको भित्री भागमा लुकाएर राखिएको १.४० ग्राम ब्राउन सुगर फेला पारेको हो।
पक्राउ परेका सबैलाई लागू औषध र बरामद नगदसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।