-फणिन्द्र तिम्सिना
धरान/ धरानमा कोशी खानेपानी आयोजना अलमलमा पर्न थालेको भन्दै नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलले नगरप्रमुखमाथि कडा आरोप लगाएका छन्। कोशीपत्र अनलाइनसँगको विशेष अन्तर्वार्तामा बोल्दै पोखरेलले मेयरकै गैरजिम्मेवार व्यवहारका कारण आयोजना अघि नबढेको बताएका हुन्।
“रित्तो गाग्री बोक्दै सिंहदरबार पुग्ने मेयरले अहिले पानी खन्याउने बेला गाग्री नै लुकाउनु भयो,” पोखरेलले व्यङ्ग्य गर्दै भने, “८५ प्रतिशत अनुदान आएको आयोजनालाई अस्वीकार गर्नु धरानका जनतासँग ठट्टा गर्नु हो।”
पोखरेलले आयोजनाको शेष १५ प्रतिशत पनि संघीय वा प्रदेश सरकारमार्फत घटाउन सकिने स्पष्ट संकेत दिएका छन्। “धरान राज्यभित्र पर्छ, बाँकी रकम पनि राज्यकै दायित्वमा व्यवस्थापन हुन्छ,” उनले भने।
भिडियो:
उनका अनुसार, खानेपानी आयोजनालाई लिएर नगरप्रमुखले अनावश्यक ढिलासुस्ती गर्दा धरानको विकास अन्योलमा परेको छ। पोखरेलले भने, “यो आयोजना राजनीतिक बहसको होइन, जनताको जीवनसँग जोडिएको मुद्दा हो। यसमा राजनीति गरेर होइन, समाधान खोजेर अघि बढ्नुपर्छ।”
यस्तै, धरान उपमहानगरपालिकाको बजेट अझै पास हुन नसक्नुको जिम्मेवारी पनि पोखरेलले नेतृत्वकै कमजोरीमा देखेका छन्। “१६ पटकसम्म बैठक बस्दा पनि बजेट आउन नसक्नु दुर्भाग्यपूर्ण हो। नगरप्रमुख आफैं अनुपस्थित हुने, उपप्रमुख अडान नछोड्ने प्रवृत्तिले विकास रोकिएको छ,” उनले स्पष्ट पारे।
पोखरेलले कोशी आयोजनामा पानी अयोग्य भएको भन्ने आशंकालाई पनि खारेज गरे। “सप्तकोशीको पानी ट्याङ्कीमा आउँदैन, बोरिङ प्रणालीमार्फत ल्याइन्छ। विज्ञको सिफारिसअनुसार योजना अघि बढाइएको हो,” उनको भनाइ थियो।
पोखरेलले नगरप्रमुखलाई प्रत्यक्ष संवाद र समन्वयमा आउन चुनौती दिएका थिए। “बाहिर स्टाटस लेखेर हैन, जनतामाझ जवाफ दिनुहोस्। तपाईं नगरका अभिभावक हो, पन्छिन पाइँदैन,” उनले भने।
पोखरेलका यस्ता कडा अभिव्यक्तिहरूपछि धरानको राजनीतिमा कोशी आयोजनाको विषय फेरि तातेको देखिएको छ। अब स्थानीय सरकार र नगरप्रमुखको जवाफ प्रतिक्षामा जनताको नजर लागेको छ।