कुलुङ जातिको मौलिक दस्तावेज ‘कुलु रिदुम्’ विमोचित

  • साउन १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कुलुङ जातिको उत्पत्ति, संस्कार, संस्कृति, विधि–विधान, लोकमान्यता, परम्परागत कानुन र जीवन चक्रको सम्पूर्ण विवरण समेटिएको ‘कुलु रिदुम्’ पुस्तक शनिबार भव्य समारोहबीच धरानमा विमोचन गरिएको छ।

धरान–५ स्थित देवीगाउँमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको केन्द्रिय कार्यालय प्रांगणमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रमुख आतिथ्य ग्रहण गर्दै पुस्तक विमोचन गरेका हुन्।

संघका महासचिव दिपेन्द्र कुलुङका अनुसार पुस्तकमा कुलुङ जातिको इतिहास, पुर्खा, मातृभाषा, वेशभूषा, परम्परागत ज्ञान, गीत–संगीत, धामी–झाँक्री परम्परा, देवी–देवतासँगको सम्बन्ध, विवाहका विधि तथा मृत्यु संस्कार (जसमा ‘नसी’, ‘हिल्सी’, ‘मोमोसी’, ‘चीचीमा सी’ जस्ता विधि) लगायत सम्पूर्ण जीवन पद्दति समेटिएको छ।

“कुलुङहरूको वेद” — ‘कुलु रिदुम्’

महासचिव कुलुङले भने, “हिन्दूको वेद, इसाईको बाइबल जस्तै अब कुलुङ जातिको आफ्नै ‘कुलु रिदुम्’ भन्ने ग्रन्थ जन्मिएको ऐतिहासिक क्षण हो।” उनका अनुसार कुलुङ समुदायमा पुस्तौँदेखिको मौखिक परम्परा अब लिखित दस्तावेजका रूपमा स्थापित भएको छ।

पुस्तकका लेखक तथा अनुसन्धानकर्ता प्रेमचन्द्र कुलुङ ‘सम्फोरु’ले कुलुङ धर्म, संस्कृति र परम्परालाई यथार्थ र वैज्ञानिक ढंगले प्रस्तुत गरेका छन्। निजामती सेवा अन्तर्गत कार्यरत सम्फोरुले विसं २०७९ देखि २०८० सम्म सिलिचोङ, सेलेवा, नागिरे, वैदाङ, मोप, भैरुङ लगायतका स्थानमा रहेका कुलुङ समुदायका धामी–झाँक्री (खूलू) हरूसँग अन्तर्वार्ता, तथ्य संकलन र अध्ययनमार्फत पुस्तक तयार पारेका हुन्।

पुस्तकलाई तथ्यपरक बनाउन २०८१ साल वैशाख २९ देखि जेठ ४ गतेसम्म संखुवासभाको ताम्कूस्थित लकूवा गाउँमा ७ दिने बृहत् बहस तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो। छलफलमा सहभागी भएका सबै प्रमुख खुलू (धामी–झाँक्री) हरूको सहमतिमा सम्फोरुले पुस्तकको संरचना तयार पारेका थिए।

त्यसैगरी, कुलुङ जातिको उत्पत्ति स्थल महाकुलुङ क्षेत्रका ऐतिहासिक चार पुर्खा — राताप्खू, खप्दूलू, ताम्सी र छेम्सी बसोबास गरेका भू-भागको समेत अध्ययन गरी पुस्तकमा समेटिएको छ। पुस्तक निर्माणमा संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको थियो।

पुस्तक विमोचन कार्यक्रममा देश तथा विदेशमा बसोबास गर्ने कुलुङ समुदायका प्रतिनिधि, कलाकार, पत्रकार, बुद्धिजीवी तथा अगुवाहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रमलाई उत्साहपूर्वक स्वागत गर्दै कुलुङ समुदायले ‘कुलु रिदुम्’ लाई आफ्नो सांस्कृतिक पहिचानको आधार ग्रन्थको रूपमा लिएको देखियो।

 IMG-20250803-WA0002 IMG-20250803-WA0003 IMG-20250803-WA0004 IMG-20250803-WA0006 IMG-20250803-WA0005

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved