झापा/ झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा करिब चार करोड ३८ लाख रुपैयाँको लागतमा ३५० मिटर लामो र पाँच फिट चौडा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।
सहरी विकास मन्त्रालयको लगानीमा बनेको उक्त पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ। पुल निर्माणसँगै बर्षौंदेखि बर्खायाममा आवतजावतका लागि ५ किलोमिटरभन्दा बढी दूरी पार गर्न बाध्य स्थानीयले सहज र सुरक्षित यात्रा गर्न पाउने भएका छन्।
अघिल्लो वर्षसम्म त्यहाँ कुनै पुल नहुँदा पूर्व–पश्चिम राजमार्ग वा भद्रपुरको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो।
पुल निर्माणका लागि २०७९ असारमा मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि, काठमाडौँबीच सम्झौता भएको थियो। त्यसपछि २०७९ मङ्सिर १० गते नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्मा र कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले संयुक्त रुपमा शिलान्यास गरेका थिए।
बजेट सुनिश्चित नभएका कारण काम ढिलो भए पनि म्याद एक वर्ष थपेर २०८२ पुस २६ भित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको थियो। निर्माण कम्पनी थानी कन्स्ट्रक्सन प्रालिका ईन्जिनियर शेखर रायमाझीका अनुसार अब पुल निर्माण कार्य पूरा भइसकेको छ।
सांसद विश्वप्रकाश शर्माले भने, “निन्दा नदी पारिका जनताको दशकौंदेखिको सुरक्षित पुल निर्माणको चाहना आज साकार भएको छ।”