धरान/ सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयको आफ्नै नाममा सुविधा सम्पन्न कार्यालय भवन भएपनि ट्रायल सेन्टर भने लिजमा लिनुपर्दा सेवाग्राहीहरुले समस्या भोग्नु परेको छ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन चाहने सेवाग्राहीहरूले लिखित परीक्षा त इटहरीमै दिन सक्ने अवस्था छ, तर ट्रायलका लागि उनीहरूलाई मोरङ्ग जिल्लाको सुन्दरहरैचा पुग्नुपर्ने बाध्यता छ ।
इटहरी उपमहानगरपालिका–१० मा निर्माण गरिएको सुविधा सम्पन्न भवनमा हाल कार्यालय सञ्चालन भए पनि ट्रायलको लागि आवश्यक भौतिक संरचना—जग्गा तथा पूर्वाधार नहुनु प्रमुख समस्या बनेको छ ।
कार्यालय इटहरीको आफ्नै भवनमा स्थानान्तरण भएको केही वर्ष भइसके पनि ट्रायल स्थलको स्थायी समाधान नहुनुले सेवाग्राहीहरूमाझ असन्तोष बढ्दो छ ।
सुनसरी यातायात व्यवस्था कार्यालयमा दैनिक करिब २ सय मोटरसाइकल तथा स्कुटी र १ सय भन्दा बढी चारपांग्रे सवारी साधनको ट्रायलका लागि सेवाग्राहीहरू आवेदन दिने गरेका छन् ।
तर उनीहरू सबैलाई करिब ७ किलोमिटर टाढाको मोरङ्ग, सुन्दरहरैचा–५ स्थित ट्रायल सेन्टर धाउनुपर्ने बाध्यता वनाइएको छ ।
सो ट्रायल सेन्टर शारदा माध्यमिक विद्यालयको जग्गामा सञ्चालन भइरहेको छ ।
विद्यालयसँग लिज सम्झौता गरेर मोटरसाइकल, स्कुटी, कार, बस, ट्रक, जेसिभीलगायतका सवारी साधनहरूको प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको छ । तर हालको ट्रायल क्षेत्र साँघुरो र जिर्ण हुँदै गएकाले थप समस्या देखिन थालेको छ ।
सुनसरी यातायात कार्यालयका प्रमुख सतीस सत्यालले भने यो समस्या आफू आउनु अगाडिदेखि नै रहँदै आएको बताएका छन् ।
हाललाई हामीसँग वैकल्पिक व्यवस्था नभएकोले यसलाई दीर्घकालीन रूपमा समाधान गर्न केही पहल आवश्यक रहेको बताए ।