झापा/ मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
यो सोही अवधिको लक्ष्यको ९१.५६ प्रतिशत हो।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आर्थिक वर्षको जेठसम्मका लागि १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन लक्ष्य निर्धारण गरिएको थियो।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने लक्ष्यअनुसार १६ अर्ब ६७ करोड २८ लाख ४० हजार रुपैयाँमध्ये ७७.५६ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट सबैभन्दा धेरै ६०.८१ प्रतिशत अर्थात् आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसपछि तरकारी आयातबाट ६२ करोड ४४ लाख ९६ हजार, यातायातका साधन तथा पाटपुर्जा आयातबाट ४० करोड ७४ लाख ५० हजार, खनिज उत्पादनबाट २७ करोड ५१ लाख ९१ हजार, कफीबाट २१ करोड ५४ लाख ७० हजार र दलहनबाट २० करोड ७७ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
चालु आवको ११ महिनामा मेची भन्सारमार्फत २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा २३ करोड ७५ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
त्यस्तै, सोही अवधिमा ४० अर्ब ७७ करोड छ लाख ४८ हजार रुपैयाँ बराबरको वस्तु आयात हुँदा १४ अर्ब २० करोड १७ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी सूचना अधिकारी हुमागाईँले दिनुभएको छ।