सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–८ मा सर्पले टोकेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय मोहमद कासिमकी छोरी नविजन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार नविजन आफ्नै घरको आँगनमा खेल्दै गर्दा दाहिने खुट्टाको घुँडामुनि सर्पले टोकेको थियो। कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भइसकेको छैन।
सर्पदंशपछि घाइते बालिकालाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा शनिबार दिउँसो ३:४० बजे नविजनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।