धनकुटा/ कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले अबदेखि पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ।
भेडेटारमा सम्पन्न दुईदिने ‘आर्थिक तथा लेखा व्यवस्थापन तालिम’को समापन कार्यक्रममा यस्तो घोषणा गरिएको हो। केन्द्रीय लेखा आयोगको आयोजनामा प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित तालिममा २१ बुँदे सामूहिक प्रतिबद्धता समेत सार्वजनिक गरिएको छ।
उक्त घोषणामा पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता बढाउने लक्ष्य राखिएको छ। घोषणापत्रअनुसार अब पार्टीका सम्पूर्ण आर्थिक गतिविधि बैंकिङ प्रणालीमार्फत मात्रै गरिनेछ। त्यसैगरी लेखापरीक्षण अनिवार्य गरिने, बजेट निर्माण गरी योजना अनुसार खर्च गर्ने, ऋण चुक्ता गर्ने र खर्चमा मितव्ययिता अपनाउने प्रतिवद्धता व्यक्त गरिएको छ।
पार्टीको लेखा प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन डिजिटल प्रणाली, नीतिगत अनुशासन र वित्तीय योजना समेत लागू गरिने जानकारी दिइएको छ। साथै पार्टी विधान, नीति र निर्देशनहरूको पूर्ण पालना गरिने उल्लेख छ।
तालिममा सहभागी जिल्ला, महानगर तथा उपमहानगर कमिटी अध्यक्षहरूले लेखापरीक्षणसहितको वार्षिक प्रतिवेदन पेश गर्ने, खर्च र क्रियाकलापको लेखाजोखा राख्ने, आन्तरिक अनुगमन गर्ने तथा कुनै पनि सम्पत्ति वा लगानी समितिको अनुमति बिना प्रयोग नगर्ने नीति अवलम्बन गर्ने संकल्प गरेका छन्।
घोषणापत्रमा लेखा अनुशासन र मितव्ययिताको अभ्यास पार्टी जीवनमा मात्र सीमित नराखी व्यक्तिगत जीवन र अन्य संस्थागत व्यवहारमा पनि लागू गरिने उल्लेख छ।
तालिमका प्रशिक्षकहरूले सिकाइएका सिद्धान्तहरू व्यवहारमा लागू नगरी केवल कागजमा सीमित राखे पार्टी सुधार सम्भव नहुने धारणा राखेका थिए।
तालिम कार्यक्रममा शुभकामना मन्तव्य एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले दिनुभएको थियो भने कार्यक्रमको अध्यक्षता एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले गर्नुभएको थियो।