धरान/ धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता धरान उपमहानगरपालिकाको संयोजन र धरान सिटी फुटबल क्लबको आयोजनामा हुन लागेको हो ।
बुधबार धरान–१५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै आयोजक क्लबले प्रतियोगिता यही असार ६ गतेदेखि १४ गतेसम्म धरान–१६ स्थित रंगशालामा हुने जानकारी दिएको छ ।
आयोजक क्लबका अध्यक्ष सागर घिमिरेका अनुसार प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगितामा धरानलगायत विभिन्न क्षेत्रका ८ वटा महिला क्लब सहभागी हुनेछन् ।
सहभागी क्लबहरूमा अल स्टार फुटबल क्लब, धरान वुमेन्स फुटबल क्लब, प्रगतिशिल फुटबल क्लब, धरान–४ फुटबल क्लब, फेयर फुटबल क्लब, धरान–१३ स्पोर्टिङ फुटबल क्लब, सिग्मी फुटबल क्लब र पटनाली फुटबल क्लब रहेका छन् ।
प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, गोलकर्ता, कोच र उदयीमान खेलाडीलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी, बेष्ट टिमले ३ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजक क्लबले जानकारी दिएको छ ।
अध्यक्ष घिमिरेका अनुसार प्रतियोगिताबाट महिला फुटबलको विकास, व्यवसायीकरण र संस्थागत प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै, यो प्रतियोगिताबाट नयाँ महिला खेलाडीहरू उत्पादन हुने र उनीहरूलाई हौसला मिल्ने विश्वास गरिएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा कुल ३ लाख ८५ हजार रुपैयाँ आम्दानी र ३ लाख ५४ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । धरान उपमहानगरपालिकाबाट १ लाख ५५ हजार रुपैयाँको अनुदान प्राप्त भइसकेको छ भने अन्य सहयोगका लागि विभिन्न दातृ संस्था, सहयोगी संस्था र खेलप्रेमीहरूबाट अपेक्षा गरिएको छ ।