धरान/ ताप्लेजुङको प्रसिद्ध धार्मिक क्षेत्र पाथीभरा आसपासमा मंगलबार साँझ परेको वर्षासहितको हावाहुरीले ठूलो क्षति पुर्याएको छ। काफ्ले पाटी र बलुडाँडा क्षेत्रमा हावाहुरीले घर, संरचना र सार्वजनिक सम्पत्तिमा क्षति गरेको हो।
स्थानीयका अनुसार, हावाहुरीले काफ्लेपाटीमा देउमान लामाको घरको छानामा रहेका सबै जस्तापाता उडाएको छ भने दलबहादुर पौडेलको भान्साघरको छाना समेत उडाएको छ।
घरका छानासँगै आसपास रहेका फलैँचा, चौतारा र होर्डिङ बोर्डसमेत उडाएको बताइएको छ।
कतिपय घरका सोलार प्लेटहरू हावाहुरीले भुइँमा झारेर फुटाएको छ।
माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईका अनुसार बलुडाँडामा डिल्लीराम भट्टराई खत्रीको घर र विश्वकर्मा पार्टीसमेत भत्किएको छ।
त्यस्तै, स्थानीय खगेन्द्र केरुङ लिम्बूको छानो हावाले उचालेर जंगलसम्म पुर्याएको छ।
क्षेत्रमा असिना पानीसमेत परेको र असिनाले रुखका हाँगा भाँच्नुका साथै भुइँको झारपातसमेत क्षति भएको स्थानीयले जनाएका छन्।