इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–४ रामपुरामा खाना पकाउने क्रममा प्रेशर कुकर पड्किँदा एक महिला गम्भीर घाइते भएकी छन्।
सोमबार साँझ करिब ६ः४० बजे घरमै खाना बनाउँदै गर्दा कुकर पड्किएर ४५ वर्षीया बिमला भट्टराईको अनुहार र बायाँ हातमा गम्भीर चोट लागेको हो।
घाइते भट्टराईलाई घटनापछि बेलुकी ९ः४० बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगरको ग्रिनक्रस अस्पतालमा रिफर गरिएको सुनसरी प्रहरीले जनाएको छ।
हाल भट्टराईको अवस्था मध्यम रहेको र ग्रिनक्रस अस्पतालको आईसीयू वार्डमा भर्ना गरिएको छ। उनको उपचारमा श्रीमान् कृष्ण भट्टराई संलग्न छन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी सिंगियाबाट प्रहरी सहायक निरीक्षक गोपाल प्रसाद बास्तोलाको नेतृत्वमा दुई सदस्यीय टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल प्रहरी चौकी सिंगियाबाट करिब २ किलोमिटर पूर्व–उत्तरतर्फ पर्ने र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।