अब विद्यार्थीलाई घण्टौँ हिँड्नुपर्दैन, वराहक्षेत्रको सुर्यकुण्डमा कक्षा ९ सञ्चालन

  • वैशाख २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–१ स्थित सुर्यकुण्ड आधारभूत विद्यालयमा यसै शैक्षिक सत्र २०८२ देखि कक्षा ९ सञ्चालन हुने भएको छ।

यससँगै पहाडी भेगका स्थानीय विद्यार्थीलाई माध्यमिक तहको पढाइका लागि घण्टौँ पैदल हिँडेर धरान वा चतरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ।

यसअघि उक्त क्षेत्रमा आधारभूत तहसम्म मात्र पढाइ हुने विद्यालयहरू थिए। सुर्यकुण्डमा रहेको सुर्यकुण्ड आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको थियो भने चावचाको पञ्चकन्या र चियावारीको सिंहदेवी आधारभूत विद्यालयमा कक्षा ५ सम्म मात्र अध्यापन हुँदै आएको थियो।

माध्यमिक तहको पढाइका लागि विद्यार्थीहरूलाई धरानको विष्णुपादुका स्थित भालडुङ्गा माध्यमिक विद्यालय, चतराको आदर्श वा औलिया माध्यमिक विद्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो। केहीले चतरामा कोठा भाडामा लिएर बस्दै पढाइ जारी राख्दै आएका थिए।

तर अब उक्त चुनौतीको समाधानको बाटो खुलेको छ। विद्यालयमा कक्षा ९ सञ्चालनको निर्णयसँगै स्थानीय विद्यार्थीहरू आफ्नै गाउँमा बसेर माध्यमिक तहको अध्ययन गर्न पाउने भएका छन्।

मङ्गलवार विद्यालय प्राङ्गणमा कक्षा ९ सञ्चालनसम्बन्धी विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा स्थानीय अभिभावक, जनप्रतिनिधि, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति थियो।

छलफलमा स्थानीय अभिभावकहरूले आफ्ना छोराछोरीलाई गाउँकै विद्यालयमा पढाउने प्रतिबद्धता जनाउँदै विद्यार्थी बढाउन भर्ना अभियान सञ्चालन गर्ने जानकारी दिएका थिए।

कार्यक्रममा नगर प्रमुख रमेश कार्की, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, वडा नं १ का अध्यक्ष किसन थापामगर, शिक्षा शाखा प्रमुख उत्तमराज भारती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक राई, प्रधानाध्यापक दिनेशराज कार्कीलगायतको उपस्थिति रहेको थियो।

नगर प्रमुख कार्कीका अनुसार स्थानीयको माग र विद्यार्थीको आवश्यकतालाई ध्यानमा राख्दै सुर्यकुण्ड विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरु गर्ने निर्णय गरिएको हो।

उनले शिक्षक, कक्षा कोठा, फर्निचरलगायत आवश्यक सामग्रीको व्यवस्थापन नगरपालिकाले गर्ने प्रतिबद्धता जनाए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य दीपक राईले गाउँमै कक्षा ९ सुरु भएपछि वर्षौँदेखिको विद्यार्थीको चाहना पूरा भएको बताए।

स्थानीय समाजसेवी धनकुमार राईले नगर प्रमुखको पहलमा गाउँमै माध्यमिक तहको पढाइ सुरु हुनु निम्न वर्गीय परिवारका लागि ठूलो राहत भएको बताए।

२०३४ सालमा स्थापना भएको विद्यालयमा हाल ११ जना शिक्षक, २ जना बालविकास शिक्षिका र १ जना कर्मचारी कार्यरत छन्। विद्यालयमा हाल ११७ जना भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक दिनेशराज कार्कीले जानकारी दिए।

skul

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved