धरान/ कोशी प्रदेशको पर्यटकीय स्थल सुनसरी र धनकुटाको संगम स्थल भेडेटारमा स्काइ वाक सञ्चालनमा आएसँगै आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।
वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी क्षेत्रफलमा निर्माण गरेको स्काइ वाक सञ्चालनमा ल्याएसँगै टावर चढेर मजा लिने पर्यटकहरु थपिदै गएका हुन् ।
टावर सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढेको छ । यहाँ नेपालकामात्र हैन भारतको दार्जिलिङ, पश्चिम बंगालसम्मका पर्यटकहरु भेडेटार आउने गरेका छन् । भेडेटारमा आएका पर्यटकहरुलाई यहाँका आकर्षक स्थलले तान्ने गरेको छ । यो सँगै स्काई वाकले पर्यटन प्रवद्र्धनमा थप सहयोग पु¥याएको छ ।
भारत सिलुगढीकी लली सुब्बा छुट्टीको समयमा धेरै पटक भेडेटार घुम्न आएको बताउँछिन् । विगतमा भेडेटार आसपासका रमणीय स्थल हेरेर फर्कने गरे पनि यस पटक आउँदा भने स्काइवाकको नया मजा लिन पाएको बताइन् । उनले यहाँ चढ्नका लागि तोकेको शुल्क चाहिँ कम गरे अझ पर्यटक आकर्षित हुने भन्दै सुझाव दिइन् ।
यहाँ चढ्दा अहिले प्रतिव्यक्ति ५ सय रुपैया लाग्ने गर्छ । सुब्बासँगै आउनु भएकी सोही स्थानकी प्रियंका प्रधानले समेत भेडेटार आएपछि पहिलो पटक स्काइवाकको मजा लिएको बताइन् ।
उनले समेत शुल्कलाई कम गरिदिएको खण्डमा यहाँ चढ्नेको संख्या अझै थपिदै जाने सुझाव दिइन् ।
यहाँ आउनेहरुले चढ्दा डर भएपनि डरसँगै मजा भएको बताउने गर्छन् । अहिले यो टावरमा चढ्ने पर्यटकको सख्या पनि उत्तिकै बढ्दै गएको सञ्चालकहरु बताउँछन् ।
भीडभाँड बढेकै कारण टावरमा चढ्न पनि पालो पर्खिनुपर्ने अवस्था रहेको स्काइ वाक चढ्नकै लागि धरानबाट भेडेटार पुग्नु भएकी निर्मला खड्का बताउँछिन्
। यो टावर २० करोड रहेको लगानीमा सञ्चालक कम्पनीले जनाएको छ । विगतमा सुस्ताएको पर्यटन व्यवसायी पर्यटक बढसँगै आशावादी समेत बनेका छन् ।
होटल संघ भेडेटारका अध्यक्ष तुमराज लिम्बुले टावर सञ्चालन पर्यटक बढेको बताए । भेडेटारमा दृश्यावलोकनका लागि भेडेटारमा दैनिक पूर्वी भारत र नेपालका विभिन्न स्थानबाट दुई हजारभन्दा बढी पर्यटकहरु आउने जनाइको छ ।
स्काई टावर सञ्चालनपछि भेडेटारको पर्यटन प्रवद्र्धनमा एउटा इटा थपिएको महसुस भेडेटारबासी, होटल व्यवसायी, पर्यटन व्यवसायी लगायत सम्बद्ध पक्षले गरेका छन् ।