आज दशैंको फुलपाती हो । हाम्रो परिवारमा बज्रपात भएको दिन अर्थात हामीलाई यस धर्तीमा जन्म दिने आमा प्यारी मायाले यो संसार छोडेको दिन । हामी तीन जना दाजुभाई टुहुरो भएको दिन हो । आमाको स्मृतीमा आज श्राद्ध गरी आमाको आत्मालाई चिरशान्तीको कामना गर्दै हामी छोराहरुको तर्फबाट गरिने कर्म गरेका छौ ।
हरेक वर्ष हामी फुलपातीको दिन जन्म दिने स्वर्गीय आमाको स्मृतीमा श्राद्ध गरेको आज २७ बर्ष भएछ । हिजाे जस्तो लाग्छ आमा ।तपाईले हामीलाई छाडेर जानु भएको सायद हाम्रो भाग्यमा यति नै थियो । बुवा आमाले हरदुख कष्ट गरी हामीलाई त्यो बेला शिक्षाको उज्यालो ज्योती दिनु भयो ।
हाम्रो भविष्य र पढाईको लागि गरेको दुखकष्टकै कारण आज हामी आज यो संसारमा गरेर खाएका छौ. । हरेक सफलतामा त्यहीँ आमाबुवाको आर्शीबाद छ । आमाबुवा आज हामी बीच हुनु हुन्न र भाई कान्छो सन्तोष पनि हामी वीचमा छैन । तीनै जना स्वर्गमा हुनु हुन्छ ।
यी हातहरुले जति लेखेपनि म सकिरहेको छैन । तर पीडा,चोट,खुशी , हाँसो अनि रोदन मानवको एउटा सारथी यही सामाजिक सन्जाल भएको छ । त्यही कुरा आज पोख्दैछु ।
जन्म दिनको आमाको सम्झनामा
२०५४ सालको दशैं थियो । ठ्याक्कै आजको दिन फुलपाती । गाउघर दशैंमय थियो । आहा । त्यो वेला आमा वुवा हुँदाको दशैं आज यो शव्दहरु लेखिरहँदा त्यही दिनको त्यहीँ दशै मेरो मानसपटलमा आउँछ । गाउँघर रातोमाटो र गोवरले लिपेर चिटिक्क हुन्थ्यो ।
तर अहिले गाउँघरमा त्यो बेलाको दशैको रौनक पाईदैन । हाम्रो आमा पनि लिपपोत गरेर घर चिटिक्क पारेको त्यो क्षण । मासुका परिकार त्यो पनि दुना टपरीमा अहिले त्यो परम्परा कहाँ छ र ? साँच्चैकै दशैं त्यो पो हो त । कति खुशी हुन्थ्यो , दाजु विनोद, भाई सन्तोष अनि म बुवा आमासँगै बसेर दशै मनाएको त्यो सम्झना ।
यो लेखिरहँदा म आफैं आँखामा आँसु सरी भएर लेखिरहेको छु । मन थाम्न सकिरहेको छैन । तर पनि आज आमा गुमाएको दिन हो । मनको बहलाई पोखिरहेको छु । दशैंको फुलपातीसँगै तिहारको देउसी नाँचको तयारी पनि चटारो पर्र्थो ।
हाम्रो गाउँमा घोपाली जनकल्याण समाज क्लब थियो र अहिले पनि छ भाई बहिनीहरुले तिहारमा देउँसी नाँच हिडाउँछन । त्यो बेला हामी क्लबमा गएर नाँच सिक्थ्योै । धरानबाट नृत्य निर्र्देशक दिपक तिम्सिना आएर हामीलाई सिकाउनु हुन्थ्यो ।
उहाँलाई पानबारीकै समाजसेवी तथा धरान १६ का पुर्व वडाध्यक्ष राम घिमिरे मार्फत हिमायतीका दिपक तिम्सिना दाईसँग क्लवको र्संवन्ध गाँसिदिएर क्लव अघि बढि नै रहेको थियो । सन्दर्भ त्यहीँ नै थियो । हामी मान बहादुर योन्जन जो अन्तरे काका भनेर हाम्रो गार्जन भई नेतृत्व गर्नु भएको थियो ।।
दशैंको फुलपातीका दिन हामी भैसीको मासु चिउरा अनि खाना खाएर साँझ नाँच सिक्नको लागि गयौं । राती ११ बजे सम्म नाँच क्लोज हुने गरेको थियो । मेरो दाजु क्लबको सचिव । जिम्मेवारीमा बसेकाहरुले नाँच्ने भाइबहिनीहरुलाई घर घरमा लगि दिनु पथ्र्यो त्यहीँ जिम्मेवारी पुरा गर्न दाजु सहित क्लवका पदाधिकारी लाग्नु भयो ।
म भने नाँचेर लगभग रातीको एघार बजे होला । घर जाँदै थिए । हाम्रो घर सबै भन्दा पुछारमा थियो । जंगलको नजिकै । हात्ती आउँदा हामीलाई नै पहिला दुख दिने गर्दथ्यो । ऊ बेला उखबारी लगाउने चलन थियो । घर जाने बाटोमा उखु नै उखु अनि त्यो उखुको खानाको लागि जंगली हात्तीको उति नै त्रासमय ।
म एक्लै घोपाली नर बहादुर काकाको घरदेखि ओरोला झरे अध्याँरो रात तर मसँग उज्यालो थिएन । लगभग साढे एघार बजेको हुन सक्छ म कक्षा ९ मा मात्रै पढ्थे । तर पनि हिम्मत चाहिँ गरेको अहिले फि हुन्छ । अनि त्यो दिनको घट्ना सम्झदा अहिले डर लाग्छ ।
म जाँदै थिएँ । एकसुरमा तर वीच बाटो पुगेपछि ठुलो आवाजमा आयो । सुनसान रात अनि आवाज मेरो त त्यो वेला पो सातो गयो । अनि हत्तपत्त फेरी मास्तिर नरबहादुर काका अर्थात गोपी दिदिको घर भनेर चिनिथ्यो । अहिले पनि उहाँहरु हुनु् हुन्छ ।
जो मेरो आमा बुवाको एकदमै मिल्ने छिमेकी भन्दा पनि घर परिवार भित्रै थियौं । अहिले पनि म उहाँहरुलाई भेटदा र देख्दा आमा बुवाको सम्झना आउँछ । म त्यही घरमा राती पुगे । त्यहाँ काका काकीहरु टिभी हेर्दै वस्नु भएको रहेछ । मैले काका यस्तो भयो । हेर्न न बाटोमा केको आवाज आयो भनेर सुनाँए ।
उहाँहरुले माइला दुम्सीहरु विरालो झगडा गरेको होला । अहिले बस दाजु आएपछि सँगै जानु भनेर टिभी हेर्दै बस्न लगाउनु भयो । हुन्छ त भने तर मेरो मनमा त्यो कराउने के होला भनेर त्यही मानसपटलमा थियो । दाजु १२ वजे तिर होला आउनु भयो र मैले सबै कुरा सुनाए । अनि काका काकीले टर्च लाइट दिनु भयो । त्यहीँ टर्च लाइट लिएर हामी दुबै दाजुभाई घर तिर फेरी ओरालो झर्यौ ।
म अघि अघि दाजु पछि पछि लाइट देखाएर झर्दै थियौं । मलाई त्यहीँ त्रास थियो । फेरी त्यहीँ आवाज सुनिम । अनि भने दाजु ऊ अघिको आवाज त्यही हो भने । अनि विस्तारी मन थामेर लाइटले हेरिम । अध्याँरो रात तर लाइटले गर्दा टललल् टल्किएको देखिम । नजिकै गएर हेरेको त आमा .........
दाजु आमा के भयो ।यति भनेको याद छ अनि आमालाई के भो भनेर उठाउँनु खोज्दा आमा अचेत जवकी ढुंगा भन्दा गहौं भई सक्नु भएको रहेछ । हामी कुदेर घर पुगिम बुवा र भाईसन्तोष मस्त निदाउनु भएको रहेछ । वुवालाई उठायौ अनि फेरी आमा भएको ठाउमा गयौ र बाकेर घरमा लििगम । आमाको अन्तिम अवस्था रहेछ ।
त्यहीँ पनि कान्छा मामा अनि गाउँ घर सवै जना मिलेर लगभग १ वजि सकेको थियो होला । वस चल्थ्यो धरान पानबारीमा त्यहीँ वस बोलाएर घोपा क्याम अहिलको वीपी क्याम लैजानु भयो । म र भाई सन्तोष घरमा एक्कासी ठुलो आवाज आयो । भाई कान्छो सानो थियो ।
ऊ डरायो म दाजु हो मैले भाईलाई च्याम्पै समाएँ,आज भाई कान्छो स्वर्गमा छ । आमासँगै होला । भाई तिमी स्वर्गमा छौ,म यो संसारमा छु । हो भाईलाई सम्हाले तर आमाको प्राण पखेरु त्यहीँ बेला उडेछ । एकछिनमा आफ्नो आमाको लास घर आँगनमा तेर्सियो ।
म यो लेख्दैछु आँस त्यति नै झरिरहेको छ आमा । तपाईले हामीलाई जन्म दिन भयो तर आज मैले पहिलो पटक तपाईलाई भेट्दा नै अस्पताल सम्म लगेको भए आज आमा हामीसँगै हुनु हुन्थ्यो । माफ गर्नु आमा तपाईको अभागि छोराले बचाउन सकेन आमा ।तपाईलाई बचाउन सकेन ।
माफ गरि दिनु आमा ,तपाई स्वर्गमा हुनु हुन्छ हामी संसारमा छौ । आत्माचिर शान्तीको कामना सदैब आसीर्बाद पाउँ अनि तपाईले देखाएको बाटोलाई पहिल्यारहँन पाऊँ ।
नोट : आमासँगै तस्वीरमा देखिएको कान्छा मामा महेश कालिकोट र भाई सागर कालिकोटे आमाले तिहारमा लगाइएको दिएको पुरानो तस्वीर हो,जुन तस्वीर भाई सागर मार्फत प्राप्त भएको हो ।