ताप्लेजुङमा विभिन्न स्थानमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएको समाचार आएको छ ।
निरन्तर भएको वर्षाका कारणले त्यहाँ विभिन्न स्थानमा पहिरो गएका हुन् । गत बुधबारयता त्यहाँ निरन्तर वर्षा भइरहेको छ । पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । पहाडी क्षेत्रमा यो नयाँ घटना भने होइन । हरेक वर्ष वर्षा याममा पहाडी क्षेत्रमा विस्थापनका घटना दोहोरिरहन्छन् ।
विस्थापन मात्र होइन, कयौँ नागरिकले ज्यान पनि गुमाउँछन् । वर्षा याममा देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्ति व्यहोर्न सर्वसाधारण नागरिक बाध्य हुने गरेका छन् ।
हरेक वर्ष वर्षा याममा तराईमा बाढीसँगै कटान र डुबानका समस्या देखिन्छन् भने पहाडी क्षेत्रमा पहिरोको समस्या देखिन्छ । तराईमा कटान–डुबानको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकहरू वर्षा याममा पानी पर्न थालेपछि रातभरि निदाउन पनि पाउँदैनन् । पहाडी क्षेत्रमा पनि पहिरोको जोखिम भएको स्थानका नागरिकहरू त्रासमा बाँच्न बाध्य छन् ।
अहिले विस्थापनको समाचार ताप्लेजुङबाट आएको छ । केही दिनपछि यस्ता समाचारहरू देशभरिबाट आउन थाल्नेछन् । यो नियमित समस्या हो । त्यसैले वर्षाबाट हुने क्षतिलाई कम गर्न सरकार र सरकारका अङ्गहरूले दीर्घकालीन योजना बनाउनु आवश्यक छ ।
विपत्ति आइपरेपछि पीडितलाई उद्धार गर्नु आवश्यक छ तर नागरिकलाई पीडित नै हुन नदिने गरी योजना निर्माण र कार्यक्रम सञ्चालन अझ बढी महत्वपूर्ण हुन्छ । यसतर्फ सरकारको ध्यान जानुपर्छ । अहिले विस्थापितहरूको बसोबास र सुरक्षाका विषयमा सम्बन्धित निकायको ध्यान जानुपर्छ ।
मनसुन पूर्ण रूपमा सक्रिय नहुँदै बाढी–पहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति हुन थालेकाले सर्वसाधारण त्रस्त भएका छन् । पहाडी क्षेत्रको भू–बनोट नै पहिरोको जोखिम हुने किसिमको हुन्छ ।
त्यसकारण यसप्रति सबैले सचेत र सतर्क हुनुपर्छ । नागरिकहरूका लागि सुरक्षित स्थलमा बसोबासको व्यवस्था मिलाउनु सरकारको दायित्व हो ।