नेपालमा उत्पादित घ्यू जापान निर्यात हुन थालेको समाचार प्रकाशमा आएको छ ।
विराटनगर–१४, जतुवास्थित सूर्योदय मिल्क एन्ड बेभरेज उद्योगले घ्यू जापान पठाउन थालेको हो ।
उद्योगले आइतबार (१३ गते) कार्यक्रम यसबारे जानकारी दिएको समाचार प्रकाशमा आएको छ । पहिलो चरणमा १२ सय किलो घ्यू जापान पठाइएको छ । अहिले प्रतिमहिना ५ हजार किलो घ्यूको माग आएको उद्योगले जनाएको छ । उद्योगले अहिले ३ हजार किलो चिउरा, तीन हजार किलो चियापत्ति, १२ सय किलो घ्यू र १२ सय किलो मह पठाएको छ ।
अर्को महिनादेखि प्रतिमहिना ५ हजार किलो अर्थात् वार्षिक ५० मेट्रिक टन घ्यू पठाउने सम्झौता भएको बताइएको छ ।
यो सुखद् विषय हो । कृषिप्रधान मानिने हाम्रो देश कृषिजन्य सामग्रीमा पनि परनिर्भर छ । निर्यातभन्दा आयात बढी हुँदा बर्सेनि व्यापार घाटा छ ।
यस्तो अवस्थाको अन्त्य नभई देशले समृद्धिको दिशामा फड्को मार्न नसक्ने निश्चित छ । कृषिजन्य उत्पादनको आयात क्रमशः घटाउँदै निर्यात बढाउँदै जाने हो भने देशको आर्थिक विकासमा ठुलो टेवा पुग्छ । कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुँदै निर्यात बढाउन सक्यौँ भने किसानहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने मात्र होइन, रोजगारीका अवसरहरू पनि स्वदेशमा सिर्जना हुने आधार तयार हुने छ । त्यसकारण पनि नेपालमा उत्पादित घ्यू जापानमा निर्यात हुन थाल्नु सकारात्मक विषय हो ।
गत वर्ष दूधको उत्पादन अत्यधिक हुँदा सूर्योदयमा धूलो दूधको बढेको थियो । यो उद्योगमा अहिले पनि ७० हजार किलो अर्थात् ७ करोड रुपैयाँभन्दा बढी मूल्यको उत्पादन थन्किएको छ । पूर्वका विभिन्न ९ वटा डेरी उद्योगहरूमा नौनी र धूलो दूध थन्किएर बस्दा किसानले भुक्तानी पाउन सकेका थिएनन् ।
उत्पादित वस्तु नबिकेर उद्योगहरू पनि हैरान थिए । अहिले भने सूर्योदयले वार्षिक ५० मेट्रिक टन घ्यू पठाउने सम्झौता गरेको छ । नेपाली उद्योगका लागि यो प्रेरणादायी प्रसङ्ग हो ।
अन्य उद्योगहरूले पनि यसैगरी अन्तर्राष्ट्रिय बजारमा पहँच बढाउँदै जाने हो भने राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । यसका लागि उद्योगहरूले अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउँदै उत्पादनमा गुणस्तर कायम गर्न पनि ध्यान दिनुपर्छ । गुणस्तर कमसल भएमा बजार गुम्न सक्छ ।
गुणस्तर खस्किन नदिई सम्झौतामा प्रतिबद्ध भइरहने हो भने बजार विस्तार हुने सम्भावना हुन्छ । उत्पादन गरे जति घ्यू लिइदिने जापानी उद्योगले बताएको विषय सूर्योदयले जनाएको छ । यसको अर्थ नेपालका अन्य उद्योगहरूले पनि त्यहाँ बजार पाउन सक्छ ।
यसका लागि सूर्योदयका सञ्चालकले समन्वय गरिदिनु आवश्यक छ । यसो हुन सके नेपाली उत्पादन निर्यात हुने क्रम बढ्नेछ । सूर्योदयसँग सम्झौता गरेको कम्पनी पद्मा कर्पोरेसन लिमिटेडले जापानसहित ६–७ वटा देशमा सामान निर्यात गरिरहेको छ ।
जापानमा नियमित घ्यू आपूर्ति गर्न सकेमा यसै कम्पनीले बङ्लादेश र न्यूजील्यान्डमा पनि बजार खोजिदिने भएको छ । त्यसैले नेपाली उद्योगहरूले उत्पादनमा गुणस्तर कायम गर्दै नियमित आपूर्तिमा ध्यान दिनु आवश्यक छ भने प्रदेश र सङ्घीय सरकारले पनि नेपाली उद्योगहरूलाई आवश्यक सहजीकरण गर्नु अपेक्षित हुन्छ ।
कोशी प्रदेश सरकारले दूधजन्य वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरेको छ । यो सकारात्मक विषय हो । कृषिजन्य उत्पादनको निर्यातमा सरकारले सहुलियत दिनु वाञ्छनीय छ ।