‘इलेक्सन टुरिस्ट’ ले इलामका होटल भरिभराउ

  • बैशाख १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ को उपनिर्वाचन नजिकिएसँगै ‘इलेक्सन टुरिस्ट’ खचाखच भएका छन् ।

मतदाता नै नभएका व्यक्ति जिल्लाबाहिरबाट हुलका हुल आउन थालेपछि इलामका होटल भरिँदैछन् ।

निर्वाचन अभियानमा आउनेहरूका कारण अहिले जिल्लाको आर्थिक अवस्था ‘अत्यन्त’ चलायमान भएको छ । पर्यटनको मुख्य सिजनमै उपनिर्वाचन पनि हुने भएपछि इलाम आउनेको संख्या बढेको छ ।

अहिले उपनिर्वाचनका लागि दल र उम्मेदवार चुनावी घरदैलो, आमसभा, मतदातासँग भेटघाटमा व्यस्त छन् ।

धेरैजसो दलका शीर्ष नेता, कार्यकर्ता, सहयोगी, उम्मेदवारका अभियन्तालगायत इलाम बजार र गाउँ–गाउँ पुगिरहेका छन् ।

झापा, मोरङ, काठमाडौंलगायत स्थानबाट निर्वाचन अभियानमा लाग्न, रिपोर्टिङ गर्न, अनुगमन र घुमघाम गर्न आउनेको संख्या ह्वात्तै बढेको हो ।

कतिपय उम्मेदवारले आफ्नो प्रचार र प्राविधिक टोली पनि जिल्लाबाहिरबाटै ल्याएका छन् ।

देशभरमा उपनिर्वाचन हुने प्रतिनिधिसभाको एउटैमात्र निर्वाचन क्षेत्र भएकाले पनि राजनीतिमा चासो राख्नेहरू इलाममा केन्द्रित भएका हुन् ।

विभिन्न दल र समूहले ‘शक्ति देखाउन’ पनि बाहिरी जिल्लाबाट गाडीका गाडी मान्छे ल्याएकाले इलाम भरिभराउ भएको छ ।

एक होटल व्यवसायी भन्छन्, ‘दिउँसो कार्यक्रममा यी मान्छै इलामकै मतदाता हुन् भनेजस्तोगरी शक्ति देखाइन्छ, राति भने उनीहरू घर फर्किन भ्याउँदैनन्, बास बस्छन् र भोलि–पर्सिपल्ट उतै फर्किन्छन् ।’

अहिले आफ्ना उम्मेदवार जिताउन शीर्ष नेता नै गाउँ–गाउँ पुगिरहेका छन् ।

उनीहरूसँग केन्द्रबाट मात्र होइन, छिमेकी जिल्लाबाट पनि हुलका हुन् मानिस इलाम आउँदैछन् । यसरी आएका व्यक्ति कतिपय घरदैलोसम्म पुगिरहेका छन् भने कतिपय चाहिँ चुनावी सभामा देखापरेर घरै फर्किनेगरेका छन् ।

कुनैपनि दलको एक शीर्ष नेता आउँदा उनीहरूसँग जम्बो टोली पनि जिल्ला बाहिरबाट भित्रिरहेको छ ।

चुनावी अभियानमा बाहिरबाट आएका पर्यटकका कारण जिल्लाको आर्थिक अवस्था ज्यादै चलायमान भएको व्यवसायी बताउँछन् ।

इलामस्थित ग्रिनभ्यु होटलका डम्बर सापकोटा भन्छन्, ‘निर्वाचन घोषणा भएयता होटल प्रायः खाली छैन । यसले लामो समयदेखि जर्जर होटलको अवस्था सुधार्न केही टेवा दिने आशा छ ।’

इलाम उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण पौडेल निर्वाचनका कारण जिल्लाको आर्थिक अवस्था धेरै चलायमान भएको बताउँछन् ।

जिल्ला सदरमुकाममात्र होइन, चुनावी पर्यटकहरू गाउँ–गाउँसम्म पनि पुगिरहेकाले विशेषगरी क्षेत्र २ का गाउँ–गाउँको आर्थिक अवस्थामा तरंग फैलिएको उनको भनाइ छ ।

‘पहिलेका निर्वाचनमा मानिस गाउँ त पुग्थे तर प्रायः त्यही क्षेत्रका व्यक्तिमात्रे हुन्थे,’ उनले भने, ‘अहिलेको चुनावमा जिल्लाबाहिरबाट आउनेको संख्या धेरै भएकाले पनि उनीहरूले यात्रा गर्दा, बसोबास गर्दा, खाना खाँदा यहाँको आम्दानी बढिरहेको छ ।’

अध्यक्ष पौडेलले अहिले होटल, यातायात, पान पसलदेखि सबैतिरको व्यवसाय बढेको बताए ।

‘यतिबेला सामान्यतया गाडी रिजर्भ गर्न खोज्यो भने पाइँदैन, होटलका कोठा पाउन मुस्किल छ, कतिपय पान पसलमा समेत पानको पात सकिएको व्यवसायी बताउँदैछन्,’ पौडेलले भने, ‘लामो समयदेखि सुस्त रहेको आर्थिक अवस्थामा यो निर्वाचनले धेरै सुधार ल्याएको संकेत छ ।’

उनले प्रायः अरूबेला जिल्ला आउने दलका शीर्ष नेतासमेत यो पटक गाउँसम्मै पुगेकाले पनि आर्थिक गतिविधि गाउँसम्म चलायमान हुनपाएको बताए ।

‘यो निर्वाचनले इलामको पर्यटनको समेत राम्रो प्रचार भइरहेको छ,’ अध्यक्ष पौडेलले भने, ‘इलाम भनेको फिक्कल, कन्याम, अन्तुमात्र होइन, माइखोलावारि पनि इलामका दर्जनौं पर्यटकीय क्षेत्र छन् भन्ने पनि धेरै पर्यटकले देश–विदेशमा थाहा पाएका छन् ।

यसपटक विल्कुल नयाँ ठाउँहरूबाट पनि चुनावी अभियानका लागि मानिस आएको देखिन्छ ।’

झापाबाट इलाम प्रवेश गर्ने जोरकलश सीमास्थित पर्यटन सूचना केन्द्रका अनुसार वैशाख १ देखि १० सम्म पाँच हजार पाँच सय ७५ पर्यटक इलाम भित्रिएका छन् ।

चैतमा आठ हजार र फागुनमा १३ हजार रहेको यो संख्या वैशाख पहिलो साता नै पाँच हजार नाघेको केन्द्रका सूचना संकलक गगन घिमिरेले जानकारी दिए ।

‘तर, इलाम प्रवेश गर्ने सबै गाडी र पर्यटकको भने यहाँ पनि रेकर्ड रहँदैन,’ उनले भने, ‘जसले केन्द्रमा जानकारी गराउँछ, उसको मात्रै विवरण हो यो ।’

विवरण टिपाउनेभन्दा नटिपाउनेको संख्या बढी हुने अनुमान गर्न सकिन्छ । र, इलाममा जोरकलसमात्र नभई अरू सीमाबाट पनि मानिस भित्रिन्छन् ।

इलामस्थित होटल एसोसिएसन अध्यक्ष देवीप्रसाद पौडेलले इलाम नगर क्षेत्रका करिब डेढ सय होटल अहिले निर्वाचनका लागि भित्रिएका मानिसले खचाखच भएको बताए ।

उनले दिनहुँ तीन हजारभन्दा बढी मानिस इलामका होटलमा बास बसिरहेको जानकारी दिए । ‘गएका निर्वाचनहरूमा यसरी भिड लाग्दैनथ्यो,’ उनले भने, ‘चुनावी सभाको अघिल्लो दिन र सभाको दिन प्रायः मानिस खचाखच हुनेगरेका छन् ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयले उम्मेदवारी मनोनयन दर्ता ९चैत २४० पछि इलाम आउने गाडीको संख्या बाक्लिएको जनाएको छ ।

जिल्ला ट्राफिक प्रमुख डम्बरबहादुर दियालीले निर्वाचन नजिकिएसँगै इलाममा साविकभन्दा ५० प्रतिशत बढी सवारीका साधन इलाम भित्रिरहेको बताए ।

‘इलामका विभिन्न जिल्लाबाट साना र ठूला सवारीका साधनमा मानिसको हुल आइरहेको छ,’ उनले भने, ‘कुन ठाउँबाट कति संख्यामा सवारीका साधन आए भन्ने त रेकर्ड छैन तर धेरै टाढाबाट पनि चुनाव केन्द्रित भएर हुलमै मानिस आइरहेका छन् ।’

पानबारी गोल्डकपः पहि ...

धरान/ धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपमा न ...

बीपीका मजदुरहरु आन्द ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved