‘कुशल अभिभावक नहुँदा उद्योग खस्किँदै छ’

  • पुष १, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कुशल अभिभावकत्व पाउन सके खस्किँदै गएको उद्योग क्षेत्र नयाँ ढंगले अगाडि बढ्न सक्ने सम्भावना जीवित रहेको भन्दै विराटनगरका उद्योगीहरुले बताएका छन् ।

एउटा टर्निङ पोइन्टबाटै नेपाली उद्योग र अर्थतन्त्र सकारात्मक दिशामा जानसक्ने आधार विद्यमान रहेकोले सरकारले त्यस अनुसार पहल लिन ढिलाइ गर्न नहुने उनीहरुको सुझाव छ । विराटनगरमा आयोजना गरिएको ‘वर्तमान आर्थिक परिदृश्यः चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोइन्ट’ विषयक सार्वजनिक अर्थ–सम्वाद कार्यक्रममा सहभागीहरुले नयाँ सम्भावनाको खोजी गर्नुको विकल्प नरहेको बताएका हुन्  ।

उद्योग क्षेत्रमा देखिएका समस्याहरु र समाधानका लागि सरकारले लिनुपर्ने नीतिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले संकटग्रस्त बन्दै गएको उद्योग व्यवसायलाई सरकारको सानो पहलबाट नयाँ ठाउँमा मोड्दै सकारात्मक बनाउन सकिने बताए  ।

‘एउटा टर्निङ पोइन्टबाटै अर्थतन्त्र सकारात्मक बाटोमा जान सक्छ तर त्यसका लागि सरकारले नीतिगत परिवर्तन गर्ने आँट भने देखाउन जरुरी छ’,

अध्यक्ष सुरानाले भने ।
नेपाली उद्योग क्षेत्रले अहिले अनेकखाले समस्याको सामना गरिरहेको र कतिपय उद्योगहरु बन्द हुने अवस्थामा पुगेकोले सरकारले नीतिगत सुधारको निर्णय लिन ढिलाइ गर्न नहुने उनको सुझाव थियो ।

अहिले पनि उद्योग क्षेत्रमा लोडसेडिङको समस्या कायम रहेको, कमजोर गुणस्तरको विद्युत प्रयोग गर्न परिरहेको, बजारमा वस्तु तथा सेवाको माग घट्दै जाँदा उद्योगको उत्पादनले बजार पाउन नसक्ने अवस्था आएको, बैंकको कर्जा नीतिका कारण लगानी प्रोत्साहन नभइरहेको आदि समस्याको उद्योगीहरुले सामना गरिरहेको भन्दै यो अवस्थालाई लामो समय लैजान नहुने सुरानाको कार्यपत्रमा उल्लेख छ ।

लोडसेडिङबाट आक्रान्त भएर २०६८ सालमा यहाँका उद्योग प्रतिष्ठानको साँचो सरकारलाई बुझाएको स्मरण गर्दै उहाँले १५ वर्षपछि पनि उद्योग क्षेत्रको मूलभूत समस्यामा तात्विक अन्तर नभएकोमा चिन्ता व्यक्त गरे ।

सरकारले एकैचोटी कसिलो नीति बनाउने र कार्यान्वयन गर्न नसकेपछि खुकुलो पार्ने प्रवृत्तिले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको भन्दै विस्तृत अध्ययन गरेर नीतिगत परिवर्तन गर्नसक्दा सकारात्मक परिणाम आउने तर्फ सरकारको ध्यानाकर्षण गराइएको छ ।

विशेष गरेर उद्योग मन्त्रालयले उद्योगहरुको विकास र विस्ताका लागि अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै उद्योगीहरुले राज्य अभिभावकत्व निर्वाह गर्नबाट पन्छिन नहुने धारणा राखेका थिए ।

प्रविधि प्रयोगको अभ्यास गर्ने क्रममा पछिल्लो समयमा अनलाइन माध्यमबाट कतिपय काम हुन थालेको भएपनि त्यसको दुरुपयोग भइरहेकोमा उद्योगीहरुले गम्भीर प्रश्न उठाएका छन्  । अनलाइनमा गएपछि भ्रष्टाचार र हैरानी झन् बढेको उद्योगीहरुको आरोप छ ।

उद्योगी तथा उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेलले भने ‘जब २० वर्षदेखि उद्योग क्षेत्रको समस्या एउटै छ भने बुझ्नु पर्छ कि यहाँ केही गलत छ, अहिले अनलाइनबाट सेवा प्रवाह गर्ने भनेपछि त भ्रष्टाचारको दायरा झन् धेरै बढेको छ ।’

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आर्थिक पत्रकार समाज सेजनका जुनारबाबु बस्नेतले चालु आर्थिक वर्ष २०८०÷८१ ले आर्थिक क्षेत्रको विकासका लागि अगाडि सारेका नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्थाका बारेमा चर्चा गरेका थिए ।

उनले आर्थिक मन्दीका कारण संकटको सामना गरिरहेको नेपाललाई नयाँ नीति बनाउने र नयाँ गन्तव्य तय गर्ने अवसर रहेको बताए ।

छलफलमा सहभागी प्रतिनिधि सभाका युवा सांसद माधव सापकोटाले संसदमा नीति निर्माण गर्नेभन्दा बढ्ता राजनीतिले प्रवेश पाउँदा देश बनाउने नीति निर्माण गर्न ढिलाइ भइरहेको बताए ।

कहिले सुन काण्ड, कहिले बालुवाटार काण्ड आदि काण्डै काण्डले संसदमा प्रवेश पाउँदा एक वर्षको अवधिमा देश बनाउने नीति निर्माणको काम पछि परेको भन्दै संसदमा राजनीति हावी हुन दिन नहुने बताए ।

सबैले सचेत प्रयत्न गर्ने र जिम्मेवारी निर्वाह गरेर मुलुकलाई नयाँ गन्त्व्य तर्फ मोड्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
प्रतिनिधि सभाका सांसद सुमना श्रेष्ठले नेपालको आर्थिक क्षेत्रको विकास गर्न नीतिगत सुधार गर्नै पर्ने अवस्था औंल्याए ।

‘हामीले क्याक्रो इन्डिकेटरमात्र हेरिरह्यौं यसरी हामी कहाँ पुग्छौं कसैले सोचेका छैनौं र कतै पुगिदैन,’ श्रेष्ठले भनिन् ‘हामी कहाँ कानुन बनाउने प्रक्रिया नै उल्टो छ र टप टु बटम (गजुरबाट ग्राउण्डको प्रक्रियालाई उल्ट्याएर ग्राउण्डबाट गजुर)मा पुग्ने सुल्टो बाटो बनाउन जरुरी छ ।’

सिर्जनशील र उत्साही कर्मचारीतन्त्रको अभावमा मुलुकको अर्थतन्त्रले सहि गति लिन नसकेको र निजी क्षेत्रले पनि आफूले गर्नुपर्ने काम नगरेका कारण समस्याहरु बढेको उनले बताइन् ।

छलफलमा भाग लिँदै युवा सांसद दामोदर भण्डारीले वर्तमान सरकारसँग देश विकास गर्ने र आर्थिक क्षेत्रलाई सम्भावनामा परिणत गर्ने इच्छाशक्ति नै नदेखिएको बताए । उद्योग मन्त्रालयका सचिव मुकुन्द ढुंगानाले सरकार उद्योग क्षेत्रको विकासका लागि सहयोग गर्न तत्पर रहेको भन्दै सरकारले चालु वर्षको बजेटबाट उद्योग क्षेत्रको विकास गर्न लिएको नीतिहरुको बारेमा जानकारी दिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बलबहादुर मिश्रले नेपालको आर्थिक सूचकांकहरुको बारेमा जानकारी दिनुहुँदै नेपालले बिजुली, आइटी, सिमेन्ट र पर्यटन विदेशीलाई बिक्री गर्नुपर्ने बताए । सरकारले पनि मुख्य गरी यिनै क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी गरेर विश्व बजारमा वस्तु तथा सेवा निर्यात गर्ने गरी योजना बनाउनु पर्ने र निजी क्षेत्रमा त्यसमै आधारित उद्यममा लगानी गर्नु उपयुक्त हुने उनले बताए ।

कार्यक्रममा उद्योगी तथा संविधान सभाका सदस्य पवन सारडाले बैंकहरु मिटरब्याजी भन्दा कम नभएको भन्दै बैंकहरुले बढी मुनाफा आर्जन गर्न खोज्दा उद्योग व्यवसाय क्षेत्र समस्यामा परेको भन्दै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । उनले नेपाली उद्योगीहरुले विदेशमा पनि लगानी गर्न पाउनु पर्ने भन्दै उद्योगीलाई अविश्वास गरेर आर्थिक क्षेत्रका प्रगति हुन नसक्ने बताए ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved