धरानमा सुकुटी व्यापार फस्टाउँदै, टिकटकबाट विदेशसम्म अर्डर

  • कार्तिक ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ ।

घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन् ।

टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन् ।

धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन् । यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ ।

गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने मात्र नभई घरमै सुकुटी र अचार बनाएर सामाजिक सञ्जालमार्फत अर्डर लिने महिलाको सङ्ख्या पनि बढ्दै गएको छ ।

धरान उपमहानगरपालिका–१५ की निता तामाङले सुकुटी बिक्री गर्न थाल्नु भएको ६वर्ष भयो । उहाँले निकेतन गल्लीमा बिहानदेखि बेलुकासम्म सुकुटीसँगै त्यसबाट बनाइएको अचार बिक्री गर्दै आउनुभएको छ ।

उहाँले तयार पारेको सुकुटी र अचारको माग नेपालमा मात्र नभइ विदेशमा समेत रहेको बताउनुभयो । विशेषगरी बेलायत,अमेरिका र हङकङलगायतका देशबाट सुकुटी तथा अचारको अर्डर आउने गरेको उहाँको भनाइ छ ।

सामाजिक सञ्जाल अहिले व्यापारका लागि प्रभावकारी माध्यम बनेको छ । “दिनभर गल्लीमा बसेर ग्राहक पर्खनुभन्दा टिकटक र फेसबुकमार्फत उत्पादनको प्रचार गर्न सके धेरै ग्राहकसम्म पुग्न सकिन्छ ।

सामाजिक सञ्जालमा सुकुटी र अचार देखेर अनलाइनमार्फत अर्डर गर्ने ग्राहक धेरै छन्”, तामाङले भन्नुभयो ।

तामाङले एक पटकमा १२० केजीसम्म राँगाको मासु किनेर घरमै सुकुटी बनाउने गरेको जानकारी दिनुभयो । घाम लागेका बेला सुकुटी सुकाउन सहज हुने उहाँको अनुभव छ ।

अहिले राम्रो घाम लाग्ने भएकाले तीन दिनमै सुकुटी सुक्ने गरेको उहाँले बताउनुभयो ।

जाडोयाममा सुकाउन एक हप्तासम्म लाग्ने र घाम नलाग्दा आगोमा समेत सुकाउनुपर्ने हुँदा बढी समय लाग्ने उहाँको भनाइ छ ।

सुकुटीको व्यापारबाट मासिक रु ८० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको तामाङले बताउनुभयो ।

धरान–१५ कै बिनिता गिरीले पनि ९ वर्षदेखि सुकुटी र त्यसबाट बनाइएको अचार बिक्री गर्दै आउनुभएको छ । उहाँका अनुसार बजारमा गुणस्तरअनुसार सुकुटी प्रतिकिलो एक हजार ६०० रुपैयाँदेखि तीन हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

त्यस्तै, सुकुटीको अचार प्रतिकिलो एक हजार ६ सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

गिरीले तयार पारेको सुकुटी धरान, इटहरी, झापा तथा काठमाडौँसम्म पुग्ने गरेको छ ।

हङकङ र बेलायतलगायतका देशमा समेत सुकुटी पठाउने गरिएको उहाँले जानकारी दिनुभयो । सामाजिक सञ्जाल टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता माध्यमको प्रयोग बढेसँगै अनलाइनबाट व्यापार गर्न सहज भएको उहाँको अनुभव छ ।

घाम लाग्दा सुकुटी सुकाउन सहज हुने भए पनि घाम नलाग्दा दाउरा किनेर सुकाउनुपर्ने बाध्यता रहेको गिरीले बताउनुभयो । यसले उत्पादन लागत बढाउने र व्यापारबाट हुने आम्दानीमा असर पार्ने उहाँको भनाइ छ ।

निकेतन गल्लीमा सुकुटी बिक्री गर्दै आउनुभएकी दिलकुमारी तामाङले बिहानदेखि बेलुका ६ बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको बताउनुभयो ।

अलिकति मेहनत गर्ने हो भने सुकुटीबाट राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सुकुटीको व्यापारबाटै घरव्यवहार चलाउँदै आएको छु सुकुटी तयार पार्न धेरै समय र मेहनत लाग्छ ।”

धरानमा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन् । उनीहरूले राँगाको मासु किनेर घरमै सुकुटी तयार पार्ने र बजारमा बिक्री गर्ने गरेका छन् । कतिपयले सुकुटीसँगै अचार बनाएर बिक्री गर्छन् ।

भानुचोक र निकेतन गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने महिलासँगै घरबाटै अर्डरअनुसार सुकुटी तथा अचार बिक्री गर्नेहरू पनि छन् ।

सुकुटी र अचारको व्यापारले महिलालाई स्वरोजगार बन्न, घरखर्च चलाउन र व्यवसाय विस्तार गर्न ठुलो सहयोग पुगेको छ ।

एउटै उत्पादनबाट विभिन्न परिकार तयार पारेर बिक्री गर्न सकिने तथा सामाजिक सञ्जालमार्फत टाढाका ग्राहकसम्म पुग्न सकिने भएकाले यस व्यवसायप्रति महिलाको आकर्षण बढ्दै गएको व्यापारी बताउँछन् ।

-रासस

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved