मुख्यमन्त्री केदार कार्कीलाई सकस संकटका साथी बोक्ने कि गठबन्धन च्याप्ने

  • कार्तिक २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt - सुमन पुरी

विराटनगर/ कोशी प्रदेशमा मन्त्रीका आकांक्षी धेरै हुँदा मुख्यमन्त्री केदार कार्कीलाई सकस परेको छ । आफ्नै गुट र गठबन्धनका सांसदको व्यवस्थापनमा चुनौती थपिएको उनीनिकट नेता बताउँछन् ।

अहिले १० जनाभन्दा बढी सांसद मन्त्रीका दौडमा छन् । उनीहरूले केन्द्रीय नेता लगाएर मुख्यमन्त्रीलाई ताकेता समेत गराइरहेका छन् । एमालेसँगको सहमति विपरीत माओवादी र नेकपा एसलाई भित्र्याएपछि एमाले भने सरकारबाट बाहिरिसकेको छ ।

एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा कांग्रेसबाट विद्रोह गरेर काँध थापेका ७ जनामध्ये शमसेर राईमात्र मन्त्री छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित सत्ता गठबन्धनका शीर्ष नेताहरूको निर्णयविरुद्ध उनी जान सक्ने अवस्था नरहेको बताइन्छ । मुख्यमन्त्रीनिकट एक नेताले भने, ‘आफ्नै समूहलाई कसरी सेटल गर्ने समस्या भइरहेको बेला, माथिबाट भनेकालाई कसरी बनाउने खै !’

कार्कीलाई साथ दिएका सांसद रामकुमार खत्रीलाई तत्काल मन्त्री बनाउन डा. शेखर कोइरालाको दबाब छ ।

खत्री उद्धव थापा नेतृत्वको सरकारमा पनि केही दिन मन्त्री थिए । कार्कीलाई मुख्यमन्त्री बनाउन ‘डिजाइनर’ मानिएका कांग्रेस नेता डा. सुनील शर्माले मोरङका मानबहादुर लिम्बूलाई मन्त्री बनाउन दबाब दिँदै आएका छन् ।

मानबहादुरका लागि मोरङ कांग्रेस सभापति समेत रहेका संघीय युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले पनि फोन गरिरहेका छन् ।

यस्तै मुख्यमन्त्री बनाउन हस्ताक्षर नगरे पनि अन्तिम समयमा केदार कार्की खेमामा पुगेका हिमाल कार्की पनि मन्त्रीको लाइनमा छन् ।

शेखर निकटकी इन्दिरा थापाले पनि लबिङ गरिरहेकी छन् । उनी कोइराला परिवारसँग अत्यन्त नजिक मानिन्छिन् ।

जीपी फाउन्डेसनमा समेत काम गरेकी उनलाई मन्त्री बनाउन कोइराला परिवारको दबाब रहेको कार्की निकट स्रोतले बताएको छ ।

लीला राई पनि आकांक्षी देखिएकी छन् । कांग्रेस संस्थापन पक्षका २१ सांसदमध्ये मन्त्रीका आकांक्षी धेरै छन् । यसअघिका प्रमुख सचेतक भूपेन्द्र राईले पनि दौडधुप बढाएका छन् ।

माओवादीबाट पनि लर्को

संविधानको धारा १६८ (५) अन्तर्गत कोशीमा माओवादीका इन्द्र आङ्वोलाई अघि सार्ने शीर्ष नेताको निर्णय केदार कार्की समूहकाले एमालेसँग समीकरण बनाएपछि कार्यान्वयन भएन । भागमा आएको मुख्यमन्त्री नपाएको भन्दै माओवादी केन्द्रले मन्त्रीमा भने धेरै हिस्सा मागिरहेको छ ।

माओवादीबाट अहिले गणेश उप्रेती मन्त्री भइसकेका छन् । उदयपुरका नारायण बुर्जा मगर पनि लाइनमा छन् ।

उद्धव थापा मुख्यमन्त्री बन्दै बुर्जालाई मन्त्री बनाउने बचन दिइएकोमा राजेन्द्र कार्की नियुक्ति गरेपछि उनले फेसबुकमा पार्टी छाड्ने सम्मको धम्की दिएर तीव्र असन्तुष्टि जनाएका थिए । सभामुखबाट राजीनामा गर्न लगाइएका बाबुराम गौतमले पनि आफ्नो ‘हक’ नै लाग्ने बताइरहेका छन् ।

मगर र गौतम बाहेक राजेन्द्र कार्की, गम्बु शेर्पा, महिला कोटाबाट गीता तिम्सिना दाबेदारका रूपमा देखिएका छन् । गठबन्धनको अर्काे घटक नेकपा एसले थप एकजना मन्त्री मागेको छ । अहिले कमलप्रसाद जबेगु मन्त्री छन् ।

कोशीमा हिक्मत कार्कीले आफ्नो पालामा मन्त्रालयको संख्या १३ बाट घटाएर ९ बनाएका छन् । गठबन्धन दल, आफ्नै गुटमा मन्त्री बन्न तँछाडमछाडले मन्त्रालय थप्दा पनि भाग पुर्‍याउने अवस्था नभएको भन्दै कसरी सबैको चित्त बुझाउने भनी मुख्यमन्त्रीलाई चिन्ता थपिएको चर्चा बढ्न थालेको छ ।

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved